काठमाडौं । कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला कारागारबाट काठमाडौंको डिल्लीबजार कारागार ल्याउने तयारी भएको छ।
रविले रुपन्देही कारागारबाट डिल्लीबजार कारागार आउन इच्छा देखाएपछि कारागार प्रशासनले सरुवा प्रक्रियालाई अगाडि बढाएको बताइएको छ। सर्वोच्च अदालतको आदेशपछि थुना अवधि लम्बिने संकेत पाएका रविले डिल्लीबजार कारागार आउने इच्छा जताएका हुन् ।
आफूलाई पायक पर्ने स्थानको कारागारमा सरुवा माग गर्न पाउने अधिकार हुने हुँदा यसअघि रविलाई सरुवा हुन चाहेको वा नचाहेको बारेमा सोध्ने क्रममा आफू रुपन्देही कारागारमै बस्ने बताएका थिए।
अदालतले समेत रविको सरुवाका लागि सहजीकरण गरिदिन कारागार व्यवस्थापन विभागलाई समेत पत्राचार गरिसकेको बताइएको छ। जिल्ला कारागार कार्यालय रूपन्देहीले रविलाई डिल्लीबजार कारागार पठाउन कारागार व्यवस्थापन विभागमा अदालतको आदेशसहित पत्राचार गरेको जेलर सुरेश भण्डारीले जानकारी दिए।
‘हामीले यहाँबाट अदालतको आदेशसहित अनुरोध गरी पठाउने हो। हामीले यहाँबाट आदेशसहित पठाइसकेका छौं,’ उनले भने। तर विभागबाट निर्णय भने भइनसकेको उनले बताए।
प्रशासन कार्यालयका एक अधिकारीका अनुसार आइतबार पत्राचार भएको हो। कारागार व्यवस्थापन विभागकी निर्देशक एवं प्रवक्ता कल्पना घिमिरेले भने आफूलाई यसबारे जानकारी नभएको बताइन्।
उच्च अदालतको बुटवल इजलासले चैत २२ गते रविलाई सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो। उक्त आदेशविरूद्ध सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट परेकोमा उच्च अदालतकै आदेशलाई सदर गरेको थियो।
श्रोतका अनुसार डिल्लीबजार कारागारमा थोरै मात्रै कैदीबन्दी हुने हुँदा भीआईपीहरुले सोही कारागार नै रोज्ने पाइएको हो। राजधानीको पायक पर्ने स्थानको कारागार भएकै कारण भेटघाट गर्न सहजता र थोरै कैदीबन्दी हुँदा फोन सुविधा पाउनुले प्रायजसो भीआईपीहरुको रोजाइमा डिल्लीबजार कारागार नै पर्ने गरेको छ।