नेभिगेशन
नेपाल प्रहरी

नेपालगन्जमा खरिद गरेको सामग्रीलाई भारतबाट ल्याएको भनेर मैनापोखर प्रहरीले बरामद गरेको खुलासा

जिप्रका बर्दियाको प्रेस विज्ञप्ति र इप्रका मैनापोखरको मुचुल्कामै फरक विवरण

बर्दिया । बर्दियास्थित इलाका प्रहरी कार्यालयले नेपालमै खरिद गरिएको १५ लाख रुपैयाँ बढीको सामग्रीलाई भारतबाट ल्याएको भन्दै बरामद गरेको खुल्न आएको छ ।

मैनापोखर प्रहरीले जेठ २० राति २:५० बजे नेपालगन्जबाट ल्याइएको १५ लाख ७३ हजार ३ सय  ९२ रुपैयाँ बराबरको निभिया डिओड्रोन्ट रोल अन ब्ल्याक एन्ड ह्वाइट क्लिएर ५० एमएल सेन्टलाई भारतबाट ल्याएको अवैध सामग्री भन्दै बरामद गरेको थियो ।

बर्दियाका लागि बिक्री गरिएको जारी बिल

तर, यथार्थमा उक्त सामग्री नेपालगन्ज उपमहानगरपालिका-८ रानीतलाउस्थित हलिम इन्टरप्राइजेजबाट खरिद भएर आएको थियो । सुरक्षाखबरलाई प्राप्त जानकारी अनुसार उक्त सेन्ट सोही इन्टरप्राइजेजबाट बिक्री भएर विक्रेताको कर दर्ता नम्बर ६२०७४३२७३ को रहेको ५८४ नम्बर बिल काटेर पठाइएको हलिम इन्टरप्राइजेजका मालिकले बताए । उक्त बिलमा कारोबार मिति २०८२/२/१८ र बिजक जारी भएको मिति २०८२/२/१८ गते रहेको हलिम इन्टरप्राइजेजले जानकारी दिएको छ ।

हलिम इन्टरप्राइजेजबाट ढुवानी गरेको गाडी चालकले समेत उक्त सामग्री आफैँले नेपालगन्जबाट बढैयाताल लिएर सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेको सुरक्षाखबरलाई बताएका छन् ।

सामग्रीसहित बरामद भएको बयल गाडा

तर, जिल्ला प्रहरी कार्यालय बर्दियाले आफ्नो आधिकारिक फेसबुक पेजमा बयलगाडामा भारतबाट ल्याउने क्रममा उक्त सामग्रीसहित बढैयाताल गाउँपालिका-२ दाउरी चोकबाट सोही गाउँपालिका-३ भवानीपुरका ४२ वर्षीय सुमिरन यादवलाई नियन्त्रणमा लिएको बताएको भए पनि नेपालगन्जबाट ल्याएको सामग्री नियन्त्रणमा लिँदा अप्ठ्यारो पर्ने भएपछि भन्सार दाखिला गर्ने क्रममा बनाइएको मुचुल्कामा बढैयाताल गाउँपालिका-२ फुटाह दाउरा चोकबाट भारत लैजान लागिएको अवस्थामा बरामद गरेको उल्लेख छ।

स्थानीय श्रोतका अनुसार नेपालगन्जबाट ल्याइएको उक्त सामग्री गाडीले बढैयातालमा छोडेर गएपछि बयलगाडामा राखेर भवानिपुरस्थित गोदाममा लैजाने क्रममा सीमा नाका भन्दा करिब डेढ किलोमिटर अगाडिबाट प्रहरीले नियन्त्रणमा लिएको पाइएको हो ।

दिभ्या जनरल शोपका मालिक भन्छन्-"नेपालगन्जबाट ल्याइएको उक्त सामग्री भवानिपुर लैजाने क्रममा प्रहरीले समातेको हो। नेपालगन्जबाट किनेर ल्याएको सामग्री पनि प्रहरीले भारतबाट तस्करी गरेर ल्याएको भनेर नियन्त्रणमा लियो। यो त प्रहरीको सरासर गल्ती हो।"

एउटा जिम्मेवार सुरक्षा निकायको जिम्मेवार प्रहरी कार्यालयको एउटै घटनाको दुई वटा पत्रमा गलत विवरणले यो प्रष्ट हुन्छ कि कतै प्रहरीले बदमासी त गरेन भनेर ? प्रहरीकै एउटा विवरणमा भारतदेखि नेपाल तस्करी भएर आएको र अर्को विवरणमा नेपालबाट भारत तस्करी गर्न लागिएको भनेर  नेपालगन्जदेखि बर्दिया आइपुगेको भ्याट बिलसहितको वैध सामग्रीलाई नेपाली भूमिमै नियन्त्रणमा लिनु कत्तिको जायज हो ? आखिर प्रहरीले एउटै घटनामा दुई छुट्टाछुट्टै विवरण किन जारी गरेको ? कतै इलाका प्रहरी कार्यालय मैनापोखरले काम देखाउनलाई प्रहरीले आम जनतामाथि अन्याय त गरिरहेको छैन ? यी गम्भीर विषयमा को जिम्मेवार ? 

जिप्रका बर्दियाको प्रेस विज्ञप्ति

 

 

जिल्ला प्रहरी कार्यालय बर्दियाले मिडियालाई उपलब्ध गराएको विज्ञप्तिमा भारतबाट नेपाल ल्याइएको भनेर सारा मिडियालाई गुमराहमा राख्न खोजिएको बर्दियाका एक पत्रकार बताउँछन् ।

इप्रका मैनापोखरले भारतबाट ल्याइएको सामग्री भनेर जारी गरिएको प्रेस विज्ञप्तिलाई शेर गरिएको

नेपालबाट भारत लैजादै गरिएको भनेर इप्रका मैनापोखरको मुचुल्का 

यता जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता डीएसपी चक्र डम्बर पालले भारतबाट ल्याउँदै गर्दा उक्त सामग्री बरामद गरिएको बारेमा इलाका प्रहरी कार्यालय मैनापोखरले जिल्ला प्रहरी कार्यालय बर्दियालाई जानकारी गराएको बताए ।  उक्त सामग्री मैनापोखर प्रहरीले बरामद गरेको र सोही कार्यालयबाट मुद्दा प्रक्रिया अगाडि बढ्ने हुँदा यदि त्यो सामग्री नेपालबाटै ल्याएको भए पनि भन्सार प्रक्रियामा गइसकेको हुँदा आबश्यक कागजात हेरेर भन्सारले निर्णय गर्ने अधिकार रहेको डीएसपी पालले जानकारी दिएका छन् ।

काठमाडौंबाट हलिम इन्टरप्राइजेजले खरिद गरेको निभिया 

 

नेपालगन्जबाट ल्याउँदा जारी भएको अनलाइन बिल

 

हलिम इन्टरप्राइजेजले काठमाडौंबाट ढवानी गरेर ल्याउँदा बिलबिजक

बराम्द गरिएको निभिया डिओड्रोन्ट

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्