नेभिगेशन
नेपाल प्रहरी

बलात्कार मुद्दामा सफाइ पाएका व्यक्ति भोलिपल्टै डीएसपी क्वार्टरमा आयोजित बर्थडे पार्टीमा, छानबिन सुरु

काठमाडौं । नेपाल प्रहरीका डीएसपीको सरकारी निवासमा बलात्कार मुद्दामा सफाइ पाएका व्यक्ति भोलिपल्ट इन्स्पेक्टरको जन्मदिनमा डीएसपी निवासमा पार्टी गरेको घटनामा छानबिन सुरु गरिएको छ।

सप्तरीको राजविराज-६ का आकाश आदर्शले बलात्कार मुद्दामा जिल्‍ला अदालत सप्तरीबाट जेठ ४ गते सफाइ पाएका थिए। त्यसको भोलिपल्टै प्रहरी निरीक्षक मनीष श्रेष्ठको जन्मदिन बनाउन जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी जितेन्द्रकुमार बस्नेतको सरकारी निवासमा पार्टी गरिरहेको तस्बिर बाहिरिएको थियो।

उक्त तस्बिर बाहिरिएपछि मधेस प्रदेश प्रहरी कार्यालयले छानबिनका लागि  एसपी नारायण रञ्जितकारको नेतृत्वमा समिति गठन गरेको हो। उक्त समितिले छानबिनको यथाशीघ्र प्रतिवेदन बुझाउने मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

सप्तरीमा बलात्कार मुद्दामा राजविराज-६ का आकाश आदर्शले सफाइ पाएको र सफाइ पाएको भोलिपल्टै डीएसपी निवासमा आयोजित एउटा पार्टीमा सहभागी भएको भन्ने समाचारबारे राज्यव्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले आईजीपी दीपक थापालाई प्रश्न गरेका थिए।

यस विषयमा आईजीपी थापाले मधेस प्रदेश प्रहरी कार्यालयका डीआइजी उमाप्रसाद चतुर्वेदीलाई सम्पर्क गरी आवश्यक छानबिन गर्न निर्देशन दिएको बताएका थिए।

डीएसपीको निवासको उक्त पार्टीको तस्बिर अगाडिकै रहेको भएपनि पत्रिकामा आज निस्केको हुँदा त्यस सन्दर्भमा मधेस प्रदेशका डीआइजीलाई छानबिनको लागि प्रहरी प्रधान कार्यालयले निर्देशन दिइसकेको छ । 

सोही जिल्लाका एसपी ढकेन्द्र खतिवडा पनि आर्थिक चलखेलको आरोप लागेपछि मधेस प्रदेश तानिसकेका छन् । उनको स्थानमा गौतम केसीको सप्तरीमा सरुवा भएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्