नेपालगञ्ज । नेपालगञ्जस्थित लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा नवनिर्मित अपरेशन थिएटर भवनको उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश सरकारको ७ करोड ७७ लाख रुपैयाँ बढीको लागतमा निर्माण गरिएको भूकम्प प्रतिरोधी उक्त भवनको आज एक समारोहका बीच उद्घाटन गरेका हुन् ।
मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले प्रहरी अस्पतालको स्तर वृद्धिमा विशेष ध्यान दिने बताउँदै यसलाई १५ शैयामा सीमित नराखी ५० शैयाको अस्पतालका रूपमा विकास गरिने स्पष्ट पारे । मुख्यमन्त्री आचार्यले भने-"यसलाई १५ शैयामा सीमित गर्नुहुँदैन । अबिलम्ब आवश्यक पर्ने कागजातहरू प्रदेशको स्वास्थ्य मन्त्रालयमा पठाउन निर्देशन दिन्छु । प्रदेश सरकारको तर्फबाट यसलाई विधिवतरूपमा ५० शैयाको अस्पतालका रूपमा स्तर वृद्धि गरेर अगाडि बढाउनेछौं ।"
उनले आगामी दिनमा यो अस्पताललाई विशिष्टिकृत अस्पतालका रूपमा विकास गरिने उल्लेख गरे । उनले सेवा सुविधा विस्तारका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताए । "उपकरणहरू र विशेषज्ञ जनशक्तिको व्यवस्थापन गर्न पनि प्रदेश सरकारले आवश्यक पहल गर्नेछ," मुख्यमन्त्री आचार्यले भने-"यसका लागि अस्पताल व्यवस्थापन समितिले ध्यान दिन जरुरी छ ।"
कार्यक्रम लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेन्द्र प्रसाद भट्टको अध्यक्षता र मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । त्यस अवसरमा बोल्दै प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारुले भविष्यमा जलन उपचारको लागि विशेषज्ञ सेवा विस्तार गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताए । आन्तरिक मामिला तथा कानुन मन्त्री आदेश कुमार अग्रवालले लुम्बिनी प्रदेश प्रहरी अस्पताललाई आफूले यस क्षेत्रको गौरवको रुपमा लिएको बताए ।
अस्पताल प्रमुख प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक डा.दीपा न्हुच्छे प्रधानले स्वागत मन्तब्य ब्यक्त गर्दै अस्पतालबारे जानकारी गराएकी थिइन् भने प्राविधिक प्रहरी नायब उपरीक्षक इन्जिनियर नितिन लाखेले भवन निर्माण प्रतिवेदन वाचन गरेका थिए । नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाडौंका प्राविधिक प्रहरी नायव महानिरीक्षक डा.गोपेश कुमार ठाकुरले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सहजीकरण प्राविधिक प्रहरी नायव उपरीक्षक डा.श्यामकृष्ण लौडारीले गरेका थिए ।
कार्यक्रममा लुम्बिनी प्रदेशमा बाँकेबाट प्रतिनिधित्व गर्ने सांसदहरु, बरिष्ठ प्रहरी अधिकारीहरु, चिकित्सकहरु, पत्रकार लगायतको उपस्थिति थियो ।