नेपालगञ्ज । नेपालगञ्जमा सञ्चारकर्मीहरुसंग कर सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आन्तरिक राजश्व कार्यालय नेपालगञ्जको आयोजना एवम् नेपाल पत्रकार महासंघ बाँके शाखाको समन्वयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । सञ्चारकर्मीहरुसंग यस प्रकारको अन्तरक्रिया जिल्लामै बिहीबार पहिलोपटक आयोजना गरिएको हो।
कार्यक्रममा बोल्दै आन्तरिक राजश्व कार्यालय बाँकेका प्रमुख पूर्ण प्रसाद न्यौपानेले करदाता शिक्षा प्रवाहका निम्ति मिडियाको अहम् भूमिका रहेको बताए । उनले कर संकलन दर बढाउन मिडियाको साथ आवश्यक रहेको भन्दै आफूहरुमाथि पनि निरन्तर निगरानी हुनुपर्ने बताए । न्यौपानेले कर छली, करको दायरामा नआउने लगायतका समस्यामा खोज पत्रकारितामार्फत खबरदारी गर्न आग्रह समेत गरे । उनले मिडिया सहकार्य र मिडियामैत्री वातावरण सिर्जनामा आफूहरु प्रतिबद्ध रहेको समेत बताए ।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले करदाता शिक्षाका लागि मिडिया सशक्त माध्यम भएको बताए । गिरीले कर सम्बन्धि सूचना र जानकारी सम्प्रेषण, कर संकलन र खर्चमा निगरानी, कर छली खुलासा, कर तिर्नु नागरिकको कर्तब्य हो भन्ने चेतना फैलाउन, कर सम्बन्धि शिक्षा र सचेतना अभिबृद्धि गर्न सञ्चारकर्मीहरुले भूमिका खेल्नुपर्नेमा जोड दिए । उनले आन्तरिक राजश्व कार्यालय मिडियामैत्री देखिएको बताउँदै सूचना प्रवाह र मिडिया सहकार्यका लागि पनि अग्रसरता देखाइरहन आग्रह गरे ।
आन्तरिक राजस्व कार्यालय बाँकेका कर अधिकृत तथा सूचना अधिकारी किरण डाँगीले स्वागत मन्तब्य ब्यक्त गर्दै कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए । डाँगीले कार्यालयले सम्पादन गर्ने काम, प्रवाह गर्ने सेवाको प्रकृति, कर सम्बन्धि नयाँ स्किम लगायतका विषयमा प्रस्तुतिकरण गरेका थिए । कार्यक्रममा पत्रकारहरुले विभिन्न जिज्ञासासंगै सुझाब एवम् पृष्ठपोषण दिएका थिए ।
पत्रकारहरुको जिज्ञासालाई कार्यालय प्रमुख न्यौपानेले सम्बोधन गरेका थिए । कार्यक्रममा करीब ६० जना पत्रकारहरुको उपस्थिति रहेको थियो।
