नेभिगेशन
नेपाल प्रहरी

३ महिलालाई कुवेत भन्दै भारत पुर्‍याएकी विष्णुमाया ८ वर्षपछि प्रहरीको नियन्त्रणमा

रुपन्देही । महिलाहरुलाई विदेश लैजाने भन्दै भारतमा लगेर बेचबिखन गर्न खोजेको आरोपपछि फरार रहेकी एक महिलालाई प्रहरीले ८ वर्षपछि पक्राउ गर्न सफल भएको छ।

कुवेत लैजाने भन्दै वि.सं.२०७४ साल वैशाख ७ गते रूपन्देहीका दुई जना र प्यूठानकी  एक महिलालाई  भारत पुर्‍याएकी बुटवल उपमहानगरपालिका-११ न्यु दुर्गा नगर की ४६ वर्षीय विष्णुमाया शर्मा परियारलाई प्रहरीले पक्राउ गरेको हो।

विशेष सूचनाका आधारमा विष्णुमाया बुटवलस्थित घरमा आएको खबर पाएर गएको रुपन्देही प्रहरीको टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ।

रुपन्देही प्रहरीले दिएको जानकारी अनुसार राम्रो काम र आकर्षक तलबको प्रलोभनमा पारेर ती तीन महिलालाई कुवेत भन्दै भारत पुर्‍याएकी थिइन् । विष्णुमायाले उनीहरुलाई नेपालबाट भन्दा भारतबाट कुवेत जान सहज हुने भन्दै महिलाहरूलाई विश्वासमा पार्दै भारत लगेकी हुन् ।

विष्णुमायाले आफूहरुलाई भारतमा लगेर अनेत्रै लैजान लागेपछि बेचबिखन वा गलत क्रियाकलापका लागि ल्याइएको आशंका गरी उनीहरू मानव बेचबिखनको क्षेत्रमा कार्यरत के आई नेपालको सम्पर्कमा पुगेको प्रहरीले जनाएको छ।

रुपन्देही प्रहरीका अनुसार उनीहरूलाई २०७४ सालमै के आई नेपाल र नेपाल प्रहरीको सहयोगमा भारतबाट उद्धार गरेर नेपाल ल्याइएको थियो। नेपाल आएपछि ती महिलाहरूले आफूहरूलाई कुवेत लैजाने भन्दै बेचबिखनका लागि भारत लगेको भन्दै  विष्णुमायाविरुद्ध प्रहरीमा जाहेरी दिएका दिए। 

प्रहरीकै खोजी सूचीमा रहेकी विष्णुमायालाई घरमै आएको अवस्थामा इलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेर थप अनुसन्धान सुरु गरिरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्