निरक बिक/बर्दिया। जिल्ला प्रहरी कार्यालय बर्दियाले विभिन्न अपराधमा फैसला भएका २८० जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। आर्थिक वर्ष २०८१-०८२ को अन्तिमसम्ममा बर्दिया प्रहरीले २०१ वर्ष ९ महिना १६ दिन कैद सजाय भएर फरार रहेका २८० फरार प्रतिवादीलाई पक्राउ गरेको हो।
आज जिल्ला प्रहरी कार्यालय बर्दियामा आयोजित पत्रकार सम्मेलनमा बर्दिया प्रहरी प्रमुख एसपी केदार खनालले पक्राउ परेका फरार प्रतिवादी २ करोड ९ लाख २० हजार ५३९ रुपैयाँ जरिवाना असुलउपर गरिएको बताए। अदालतबाट फैसला भएर फरार रहेकाहरुमा ५ जनालाई २० वर्षपछि,१८ जना १५ वर्षपछि,२० जना १० वर्षपछि,२४ जना ५ वर्षपछि र २१३ जनालाई ५ वर्षभित्र पक्राउ गर्न सफल भएको एसपी खनालले जानकारी दिए।
एसपी खनालका अनुसार बर्दिया प्रहरीमा दर्ता भएका ५ वटा कर्तव्य ज्यान मुद्दामा ५ वटै फर्छयौट भएका छन्। उक्त मुद्दामा ६ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको थियो भने ज्यान मार्ने उद्याेगतर्फको ३ वटै मुद्दा फर्छयौट गर्दा ५ जनालाई पक्राउ गरिएको थियो। त्यसैगरी भवितव्य ज्यानमा ७४ र फुटकर ज्यान सम्बन्धिमा ४६ दर्ता भएका दुबै प्रक्रियामा रहेको खनालले बताए।
यस्तै ज्यान सम्बन्धि कसुरतर्फका २ मुद्दामा एउटा फर्छ्यौट हुँदा एउटा अनुसन्धान प्रक्रियामा रहेको र पहिचान नखुलेको शव ३ वटा फेला परेकोमा ३ वटै अनुसन्धान प्रक्रियामा रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। उक्त अवधिमा हात हतियार तथा खरखजाना मुद्दामा ६ जनालाई पक्राउ गरिएको एसपी खनालले जानकारी दिएका छन् ।
खनालका अनुसार एक वर्षको अवधिमा जिल्लाभरमा विष सेवन गरेर आत्महत्या गर्नेको संख्या १७ रहेको छ भने झुन्डिएको आत्महत्याको प्रयास गर्नको संख्या १२९ रहेको छ। त्यसैगरी बलात्कार मुद्दामा ३७ जनालाई पक्राउ गरिएकोमा १० जना फरार रहेका छन। जबरजस्ती करणी उद्योगमा दुई जनालाई पक्राउ गर्दा दुई जना फरार छन् । सो अवधिमा अप्राकृतिक मैथुनतर्फ एक जनालाई पक्राउ गर्दा बाल यौनदुरुपयोगमा ९ जनालाई पक्राउ गरिएकोमा १ जना फरार रहेको एसपी खनालले बताए ।
बर्दिया प्रहरीले नागरिकता सम्बन्धि कसुरमा ३ जनालाई पक्राउ कानुनी दायरामा ल्याउदा ३ जना फरार रहेछन छन। चोरी मुद्दामा ७३ जनलाई पक्राउ गर्दा ६ जना फरार रहेको जनाएको छ। त्यसैगरि झुन्डिएर आत्महत्या गर्न दुरुत्सानतर्फको मुद्दामा ३ जनालाई पक्राउ गरेको बर्दिया प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय बर्दियाको लागुऔषधविरुद्धको कारबाहीमा आर्थिक वर्ष ०८१-०८२ मा १४४ ग्राम ८९६ मिलिग्राम ब्राउन सुगरसहित १८४ जनालाई पक्राउ गरेको छ। त्यसैगरी २ किलो १०६ ग्राम चरेश बरामद गर्दा ५ जना, २१ किलो ५७० ग्राम ३ सय मिलिग्राम अफिमसहित ४ जना,५ किलो ८७१ ग्राम १८० मिलिग्राम गाँजासहित ६ ,प्रतिवन्धित औषधिसहित १७ जनालाई पक्राउ गरिएको एसपी खनालले आजको पत्रकार सम्मेलनमा बताएका हुन् ।
त्यसैगगरी जिल्लाभरबाट १ करोड ४९ लाख ६२ हजार ८७ रुपैयाँ बराबरको अवैध सामग्री बरामद गर्ने क्रममा १७ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ। सो दौरानमा अवैध ओसारपसारमा प्रयोग गरिएका ११ वटा मोटरसाइकल, ११ अटो, एउटा ट्याक्टर ,३४ थान साइकल र एक डल्लफलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। अवैध उत्खनन कार्यमा संलग्न १६ सवारीसाधनलाई नियन्त्रणमा लिमे क्रममा १ लाख २२ हजार रुपैयाँ राजस्व संकलन गर्दा सो कार्यमा २४ जनालाई पक्राउ गरिएको थियो।
जिल्लामा गरिएको ट्राफिक कारबाहीमा १२ हजार ३२५ वटा सवारीसाधनलाई कारबाही गर्दै ९३ लाख ६७ हजार ५०१ रुपैयाँ राजस्व संकलन गरिएको बर्दिया प्रहरीले जानकारी दिएको छ।
बर्दिया जिल्लाभरमा १२७९ पटक गरिएको सचेतना कार्यक्रममा ६४ हजार २३ जना सर्वसाधारण लाभान्वित भएको छन् । सचेतना कार्यक्रमतर्फ विशेष गरी लागुऔषध नियन्त्रण ,सवारी दुर्घटना,मानव बेचबिखन,साइबर अपराध ,महिला हिंसा, आत्महत्या लगायतका बारेमा कक्षा दिइएको जिल्ला प्रहरीले कार्यालय बर्दियाले जनाएको छ।
त्यसैगरी विपद घटनामा परेर जिल्लाभर ५१ जनाको मृत्यु भएको छ भने १५४ जना घाइते भएका हुन् । बर्दिया प्रहरीका अनुसार ती विपद घटनामा १२ सय २८ जना सुरक्षाकर्मी परुचालन भएका थिए ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख एसपी खनालका अनुसार स्थानीय तहमा महिला तथा बालबालिका सम्बन्धि २४९ उजुरी रहेकोमा प्रहरी कार्यालयमा पनि २४९ उजुरी आउँदा २३० वटा उजुरीलाई मिलापत्र गराइएको र १९ वटा उजुरीलाई सम्बन्धित निकायमा पठाइएको हो।
विभिन्न स्थानबाट हराएका ३५७ जनामध्ये ३३८ जना फेला परेका छन् भने १९ जनाको खोजीकार्य जारी रहेको बर्दिया प्रहरीले बताएको छ। जसमा १८ वर्षसम्मका १४४ जना हराएका मध्ये १३५ जना फेला पर्दा १९ देखि ५८ वर्ष उमेर समूहका २०३ जनामा १९५ र ६० वर्षमाथिका १० जना हराएकोमा ८ जना फेला पारेर आफन्तको जिम्मा लगाइएको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय अन्तर्गतको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा २४९ वटा घरेलु हिंसाका उजुरीमा २३० लाई मिलापत्र गराइएको थियो भने सामाजिक हिंसातर्फ १०३ उजुरीमा १०२ मिलापत्र हुँदा बाँकिलाई सम्बन्धित निकायमा पठाइएको हो।
आम सर्वसाधारण नागरिकका लागि जिल्ला प्रहरी कार्यालय बर्दियाले निवेदन दिन सहजता हुने भन्दै क्यु.आर.कोड प्रयोगमा ल्याएको जानकारी दिएको छ।