नेभिगेशन
नेपाल प्रहरी

अर्कैको जग्गाको नक्कली लालपुर्जा बनाएर बिक्री वितरण गर्ने मालपोत अधिकृत पक्राउ

काठमाडौं । अर्कैको नाममा रहेको जग्गाको नक्कली लालपुर्जा बनाएर वितरण गरेको आरोपमा बुटवलस्थित मालपोत कार्यालयका अधिकृतलाई प्रहरीले पक्राउ गरेको छ।नक्कली लालपुर्जा बनाएको आरोपमा पक्राउ पर्नेमा अधिकृत धनश्याम अर्याल रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ।

रुपन्देही प्रहरीका अनुसार अधिकृत अर्यालले सरकारी छापको दुरुपयोग गर्दै अर्कैको जग्गाको नक्कली लालपुर्जा जारी गरेको प्रकरणमा भैरहवा मालपोत कार्यालयका कार्यालय सहयोगी सञ्जय कुमार केवट र तिलोत्तमाकी रन्जना थापा पनि पक्राउ परेका छन् ।

रुपन्देही जिल्ला अदालतले उनीहरुलाई सरकारी छापको दुरुपयोग र नक्कली लालपुर्जा बनाएको कसुरमा जारी गरेको पक्राउ पुर्जीका आधारमा पक्राउ गरिएको रुपन्देही प्रहरीले जनाएको छ। प्रहरीले दिएको जानकारी अनुसार पक्राउ परेका उनीहरू पुरानो कित्ता प्रकरणसँग सम्बन्धित किर्ते मुद्दामा संलग्न रहेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ।

नक्कली लालपुर्जा प्रकरणमा उनीहरुले पैसा लिएर सरकारी जमिन र सर्वसाधारणको जग्गाको नक्कली लालपुर्जा बनाएर बिक्री वितरण गर्नुका साथै बनाइएको नक्कली लालपुर्जा धितो राखेर वित्तीय संस्थाबाट कर्जा लिएको बताइएको छ।

प्रहरीका अनुसार उक्त नक्कली लालपुर्जा प्रकरणमा  संलग्न केही अन्य मालपोत कर्मचारीहरू पनि अनुसन्धानको दायरामा परेका छन। प्रहरी भन्छ "अहिले उनीहरुले कुन स्थानको कुन कित्ता किर्ते गरे भन्ने विषयमा अनुसन्धान जारी रहेकाले विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।"

रुपन्देही प्रहरीले उनीहरुसँग नक्कली लालपुर्जा प्रकरण थप अनुसन्धान जारी राखेको जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्