नेभिगेशन
नेपाल प्रहरी

चक्रे मिलनसहित १९ जनालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं । गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) सहित १९ जनालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रशासन कार्यालयले प्रहरीलाई आदेश दिएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ परेका ४७ जना मध्ये १९ जनालाई अभद्र व्यवहार मुद्दामा अनुसन्धान गर्न जिल्ला प्रहरी परिसरलाई अनुमति दिएको हो।

काठमाडौं प्रहरी परिसरका अनुसार म्याद थप  हुने १९ जनामा चक्रे मिलन, गणेशबहादुर बोगटी, निराजन पौडेल, रोशन सुवेदी, राजेश खड्का, सन्दीप के।सी।, राहुल खड्का, यामु पौडेल, सौरभ सुनार, डिल्लीराज कँडेल, ऋतिक लामा, चन्द्र देव कार्की, जित बहादुर लामा, प्रकाश गोले, अमिर आलेमगर, उत्तम महर्जन, प्रनिश केटल, राजु परियार र सफल शाही  रहेका छन्।

पक्राउ परेका अन्य २८ जनालाई हाजिरी जमानीमा छोडिएको काठमाडौं प्रहरी परिसरले जानकारी दिएको छ। उनीहरु अधिकांश होटेलका ग्राहक समेत रहेको र अन्यको गुन्डागर्दीमा संलग्नता नरहेको पाइएपछि छोडिएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार केही दिनदेखि चक्रे मिलनको बर्थडे सेलिब्रेसनको नाममा आतंक फैलाएको भन्दै प्रहरीले सर्च अपरेसन चलाएको थियो। उक्त अपरेसनमा गुन्डागर्दीमा संलग्न ४७ जना प्रहरीले गए राति पक्राउ गरेको थियो।

उनीहरुले बाटो छेकेर गाडीहरू चलाएको, होहल्ला गरेको, आतंकित बनाएको भन्दै प्रहरीले चक्रे मिलनको समूहलाई खोजी गरेको थियो। खोजी गर्ने क्रममा प्रहरीले उक्त समुहलाई महाराजगन्जको   साम्बाला होटलबाट पक्राउ गर्न सफल भएको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्