नेभिगेशन
सुरक्षा विशेष

नेपालगन्जस्थित जमुनहा नाका आजदेखि पूर्णरुपमा सञ्चालनमा

बाँके । नेपालगन्जस्थित नेपाल–भारत जमुनहा सीमा नाका पूर्णरुपमा सञ्चालनमा आएको छ । केही दिन बन्द रहेको नाका आजदेखि पूर्णरुपमा खुलेको हो । जेन-जी प्रदर्शनका कारण केही दिन बन्द गरिएको र पछि आंशिक रुपमा सञ्चालन गरिएको नेपाल–भारत जमुनाहा सीमानाका आजबाट पूर्णरुपमा खुलेको दुबै देशका सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

आजबाट नाका पूर्ण रुपमा खोलिएको जनाउँदै भारत रुपैडिहास्थित भारतीय सुरक्षा निकाय एसएसबीका निरीक्षक रितुराजले अब नाकामा कुनै प्रकारको समस्या नरहेको बताए । उनले भारतबाट नेपाल जाने नेपाली यात्रुलाई सुरुबाटै जान दिइएको जनाउँदै तर अहिले आएर दुबै देशका नागरिकलाई पूर्ण रुपमा आवागमन गर्न दिइएको बताए ।

यसअघि भारतले बिरामी, एम्बुलेन्स तथा अन्य आपातकालीन अवस्थाका नेपाली नागरिकलाई मात्र भारत प्रवेश गर्न दिएको थियो, भने भारतीय नागरिकलाई नेपाल आउन दिएको थिएन । नेपालतर्फको अवस्था सामान्य भएर जनजीवन पूरानै लयमा फर्किसकेपछि जमुनाहा नाका पूर्ण रुपमा सुचार गरिएको ईलाका प्रहरी कार्यालय जमुनाहाले पनि जनाएको छ ।

भारतबाट स्वदेश फर्किएका नेपालीहरुले अहिले आवागमनमा कुनै पनि समस्या नरहेको जनाउँदै परिचयपत्र हेरेर सहज रुपमा आवागमन गर्न दिइरहेको जनाएका छन् । देशभरि जेनजीले प्रदर्शन सुरु गरेपछि केन्द्रको आदेश जनाउँदै भारतीय सुरक्षाकर्मीले सीमा नाका गत बुधवारबाट बन्द गरेका थिए ।

यता, नेपाली सुरक्षाकर्मीहरुले पनि भारतबाट आउने नेपालीलाई आउन दिए पनि भारतीय नागरिक र सवारी साधनको प्रवेशमा रोक लगाएका थिए । यसअघि प्रदर्शनकारीहरुले जमुनाहाको प्रहरी चेकपोष्टसहित भन्सार यात्रु शाखामा मङ्गलबार दिउँसो आगजनी र तोडफोड गरेर ध्वस्त बनाएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्