नेभिगेशन
नेपाल प्रहरी

महाराजगन्ज प्रहरी वृत्तका असई मिलनको हत्या आरोपमा सिन्धुपाल्चोकका ओम पक्राउ

काठमाडौँ । काठमाडौंको महाराजगन्ज प्रहरी वृत्तका असई मिलन रायको हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको छ।

जेनजी आन्दोलनका क्रममा महाराजगन्ज प्रहरी वृत्तमा  कार्यरत असई मिलनको हत्यामा संलग्न सिन्धुपाल्चोक घर भएका ओम पौडेललाई हत्या गरेर लुकिछिपी बसेको अवस्थामा उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंको टोलीले पक्राउ गरेको हो।

भदौ २४ मा महाराजगन्जमा असई मिलनलाई छटपटाइरहेको अवस्थामा पौडेलले अनुहारमा मुङ्ग्रोले हिर्काएर बीभत्स तरिकाले हत्या गरेको भिडियोमा देखिन्छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पौडेललाई धापासीबाट पक्राउ गरेको हो ।

जेनजी प्रदर्शनको क्रममा उद्दण्ड समूहले प्रहरी वृत्त महाराजगन्जमा आगजनी गरेर दुईजना प्रहरीको हत्या गरेका थिए । मृत्यु हुनेमा असई मिलान र जवान उत्तम थापा छन् ।

असोज ४ मा प्रहरीको हत्या आरोपमा काभ्रे घर भएका युवराज क्यापछाकी पक्राउ परेका थिए । प्रहरी हत्यामा संलग्न आरोपमा पक्राउ पर्नेहरूको सङ्ख्या २ पुगेको छ । क्यापछाकीलाई अनुसन्धान गर्न अदालतले प्रहरीलाई १० दिनको म्याद दिएको काठमाडौं प्रहरीले जानकारी दिएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्