नेभिगेशन
सुरक्षा विशेष

प्रशासनले दोषीलाई कारबाही र ताला खोल्न पहल नगरे आन्दोलन गर्ने डुडुवाको चेतावनी

बाँके । डुडुवा गाउँपालिकामा लगाइएको तालाबन्दी नखुल्दा अत्यावश्यक लगायतका सम्पूर्ण सेवा ठप्प भएको छ । कार्यालयमा तालाबन्दी गरिएको करीब दुई हप्ता वितिसक्दा गाउँपालिकाको काम काज ठप्प भएको छ । गाउँपालिकाले आज पत्रकार सम्मेलन गरेर घटनामा संलग्नलाई आवश्यक कानुनी कारबाही र तालाबन्दी खुलाई कार्य सुचारु गराइदिन जिल्ला प्रशासन कार्यालय बाँकेलाई लिखित अनुरोध गर्दा पनि अहिलेसम्म पहल नभएको जनाएको छ ।

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले तालाबन्दी खोलेर प्रहरीद्वारा मुचुल्का तयार गरी कामकाज गर्ने वातावरण बनाइदिन प्रशासन कार्यालयलाई अनुरोध गरिएको बताए । उनका अनुसार कार्यपालिका बैठकले वडा नम्बर ४ का वडा अध्यक्ष एवम् कार्यपालिका सदस्य सगिर खाँको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको छ । समितिमा डुडुवा–१ का वडा अध्यक्ष पटेश्वर कुर्मी, वडा नम्बर ६ का गाउँसभा सदस्य राधेश्याम मुराउ र सहयोगी शिवकुमार मौर्य सदस्य रहेका छन् । 

पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष चौधरीले तालाबन्दी नखुल्दा दसैंको मुखमा कर्मचारीलाई तलब खुवाउन नसकिएको र गाउँपालिकाले प्रदान गर्ने अन्य अत्यावश्यक सेवा ठप्प भएको बताए । अध्यक्ष चौधरीले जिल्ला प्रशासन कार्यालयले बिहीबारसम्म घटनामा संलग्नहरुलाई आवश्यक कानुनी कारबाही र ताला खोलेर काम सुचारु गराउने वातावरण तयार नगरे शुक्रबारदेखि आफूहरु नेपालगञ्ज केन्द्रित आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिए । पालिकालाई अनावश्यक रुपमा बद्नाम गरेको र आन्दोलनको नाममा घुसपैठ गरी विपक्षी समूहले पालिकालाई बद्नाम गर्ने गरी अतिरञ्जित कार्य गरेको उनको भनाई थियो । उनले भने,–‘कानुन विपरित पालिकामा पसेर खानतलासी गर्ने अनि ताला पनि लगाउने उहाँहरुलाई कुन कानुनले दिएको छ, यदि दुई दिनभित्र ताला खोलिएन भने पालिकाले कडा रुपमा आन्दोलन गर्छ।" केही विरोधीले गरेको विरोध पालिकाका जनताले कहिल्यै पनि सहन नसक्ने भन्दै अध्यक्ष चौधरीले पालिकाका सम्पूर्ण जनता आन्दोलनमा आउने चेतावनी दिए । 

गत भदौ २५ गते राती करिब साढे ८ बजेतिर जेन–जी आन्दोलनको आडमा अपरिचित समूहले कार्यालयका कागजात निकालेर आगो लगाएको थियो । लगत्तै दोस्रो दिन अर्को समूह आएर एक घण्टा भन्दा बढी समयसम्म बाउण्ड्री र प्रशासनिक भवनमा आवत–जावत गरी नगर प्रहरीलाई धम्की दिएको गाउँपालिकाले जनाएको छ । त्यसको भोलीपल्ट बिहान साढे १० बजेतिर लुम्बिनी प्रदेशका पूर्व मन्त्रीद्वय भण्डारीलाल अहिर र विजय बहादुर यादवको नेतृत्वमा ३०-३२ जनाको संख्यामा गाउँपालिकाभित्र पसेर कोठाहरुमा लागेको ताला फोडेर भिडियो बनाउँदै तालाबन्दी गरेको गाउँपालिकाले जनाएको छ । उनीहरुबाट कोठाहरुमा के कति क्षति भयो भन्ने कुरा एकिन नभएको पालिकाद्वारा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । 

पत्रकार सम्मेलनमा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी, गाउँपालिका उपाध्यक्ष साहिदा बानो, वडा अध्यक्षहरु दुर्गा प्रसाद बर्मा, आमोद कुमार तिवारी, सगिर खाँ, प्रमुख प्रशासकीय अधिकृत अशोककुमार पाण्डेय, वडा सदस्य र कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्