नेभिगेशन
नेपाल प्रहरी

बाँके प्रहरीको चाडपर्व विशेष सुरक्षा योजना: ११ सय प्रहरी परिचालन,२४ सैं घण्टा गस्ती

बाँके । वि.सं.२०८२ का मुख्य चाडपर्वलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेले सुरक्षा योजना तयार पारेको छ। विशेष गरेर दसैं, दिपावली र छ्ठलाई लक्षित गर्दै तयार पारिएको सुरक्षा योजनामा ११ सय प्रहरी परिचालन गरिएको छ।

बाँके प्रहरी प्रवक्ता डीएसपी दिपक पातलीका अनुसार चाडपर्वमा हुन सक्ने चोरी लगायतका घटनालाई निस्तेज पार्न मोटरसाइकल तथा विभिन्न स्थानमा पौदल गस्ती सुरु गरिएको छ।  त्यसैगरी दुर्घटना नियन्त्रणका लागि बाँके जिल्लामा अधिकांश ठाउँमा चेक प्वाइन्ट राख्न सुरु गरिएको डीएसपी पातलीले जानकारी दिएका छन् ।

दसैँ, तिहार र छठ पर्वमा १५ प्रकारका अपराध हुनसक्ने बाँके प्रहरीले अनुमान गरेको छ । बाँके जिल्लामा सबैभन्दा धेरै चोरीका घटना हुन्छन् । चाडपर्वमा पाकेटमारी, ठगी, लुटपाट, स्न्याचिङ, कुटपिट, झैझगडा, गुण्डागर्दी, सवारीमा भाडा वृद्धि, कालोबजारी, खाद्य पदार्थको कृत्रिम अभाव, विस्फोटक पदार्थको अवैध कारोबार र घरेलु मदिराको प्रयोगबाट अपराधका घटना हुनसक्ने प्रहरीको विश्लेषण छ । बाँके प्रहरीले जिल्लाभरका सबै युनिटलाई नियमित गस्तीमा खटिन निर्देशन समेत दिइसकेको बताइएको छ।

त्यस्तै सवारी दुर्घटना, ध्वनि प्रदूषण र सार्वजनिक यातायातमा हुनसक्ने महिला हिंसाको घटनालाई पनि न्यूनीकरण गर्नेगरी सुरक्षा योजना तयार गरिएको डीएसपी पातलीले बताए । उनले भने, ‘पर्वहरूमा हुनसक्ने विकृति र विसङ्गतिलाई नियन्त्रण गर्ने गरी सुरक्षा योजना बनाएर लागु गरेका छौं ।’

चाडपर्वमा विभिन्न शक्तिपिठहरुमा पुजा आराधना गर्ने ठाउँहरूमा सुरक्षा प्रदान गर्नेगरी योजना तयार गरिएको छ ।त्यस्तै जुवा खेलविरुद्ध पनि  छुट्टै टोली परिचालन गरिसकेको डीएसपी पातलीले जानकारी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्ज बसपार्क र जमुनहा नाका र कोहलपुर बसपार्कमा गरि तिन ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको  छ । बाँके भित्रिने र बाहिरिने सड्क नाकामा कुकुर परिचालन गर्ने प्रहरीको तयारी छ । जिल्लाका मुख्य स्थानहरूमा चोरी सम्बन्धी सचेतनामूलक जिङ्गल बजाउने र आर्थिक कारोबार हुने क्षेत्रहरूमा कन्ट्रोल रुम भेहिकल (सिआरभी) परिचालन गर्न सुरु गरिएको डीएसपी पातलीले बताए। जमुनहा नाकामा विशेष निगरानी सुरु गरिएको पातलीले बताए।

कुनै पनि कानुन विपरीतको कार्य भएको लागेमा प्रहरी कन्ट्रोलको १०० नम्बर, कार्यालयका प्रमुखको ९८५८०५५५५५ र जिल्ला प्रहरी कार्यालयका डीएसपीको ९८५८०२३९२२ मा फोन गर्न जिल्ला प्रहरी कार्यालय बाँकेले अनुरोध समेत गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्