नेभिगेशन
नेपाल प्रहरी

साइबर ब्यूरोमा लिखित बयान दिएर फर्किए एमाले नेता महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका पोलिट्ब्युरो सदस्य महेश बस्नेत नेपाल प्रहरीको साइबर ब्युरोमा उपस्थित भएर कागजी बयान दिएका छन् ।

साइबर अपराधको मुद्दामा कागजी बयान दिन बस्नेत आज बिहान भोटाहिटीस्थित साइबर ब्युरोमा उपस्थित भएका हुन्। उनले आफूमाथि लागेको आरोपको सन्दर्भमा बयान कागज गराएर फर्किएको ब्युरोका एसपी दीपकराज अवस्थीले जानकारी दिए। 

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको निर्देशनपछि ब्यूरोले नेता बस्नेतलाई बयानका लागि बोलाएको थियो । सोही अनुसार उनी आज बिहान ब्यूरोको कार्यालयमा हाजिर भएर लिखित बयान दिएको ब्यूरोका एसपी अवस्थीले बताए ।

ब्यूरो स्रोतका अनुसार बस्नेतले डेढ घण्टासम्म लिखित बयान दिएका हुन् । सरकारी वकिल कार्यालयले नै पठाएको प्रश्नको उनले लिखित जवाफ दिएको ब्यूरो श्रोतले बतायो ।

‘सरकारी वकिल कार्यालयले हामीलाई तीन वटा टास्क दिएको थियो । त्यो मध्ये एउटा बयानका काम सकिएको छ । बाँकी दुई वटा काम सकिएपछि प्रतिवेदन पेश गर्छौं’ ब्यूरो स्रोतले भन्यो ।

ब्यूरो स्रोतका अनुसार सरकारी वकिल कार्यालयले तयार गरेका प्रश्नमा उनले इन्कारी बयान दिएका छन् ।

एक महिलाले आफूमाथि सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको आरोप लगाएकी थिइन् भने सुरूमा ब्युरोमा जाहेरी दिएकी थिइन्। त्यहाँ जाहेरी दर्ता नभएपछि हुलाकमार्फत सरकारी वकिलको कार्यालय काठमाडौंमा पठाइएको थियो।

जिल्ला सरकारी वकिलको कार्यालयले साइबर ब्युरोलाई असोज ५ गते पत्राचार गरेको थियो। उक्त पत्रमा महेश बस्नेत फ्यान क्लब कसको नाममा खोलिएको छ, त्यसमा थप अनुसन्धान गरी राय पेस गर्न भनिएको थियो।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्