बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाले १० वर्षीया बालिका भारती (एन्जल) देउवाको हत्या गरेको अभियोगमा पक्राउ परेका युवकलाई सार्वजनिक गरेको छ।
बर्दिया प्रहरीले हत्या घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका गेरुवा गाउँपालिका झबहीका २१ वर्षीय समीर तिरुवालाई सार्वजनिक गरेको हो।
बर्दिया प्रमुख एसपी सरोज पौडेलले मृतक यही असोज १७ गते सम्पर्कविहीन भएकामा खोजतलासका क्रममा असोज २० गते नजिकै गाडिएको अवस्थामा एन्जलको शव फेला परेको बताए।
घटनापछि अनुसन्धानका क्रममा पक्राउ पेरका तिरुवाले बालिकाले लगाएको सुन र चाँदीको गहना लुट्ने क्रममा बालिकाले प्रहरीलाई भनिदिन्छु भनेपछि हत्या गरेको स्वीकारेको प्रहरीले जानकारी दिएको छ।
माछा मार्न स्थानीय गेरुवा -५ मुलपानीको गुडिखोला किनारमा बसिरहेका सुनारले असोज १७ गते दिउँसो साइकलमा आइरहेकी एन्जलाले दुइवटा कानमा लगाएका एक र एक आनाको सुनको मुन्द्री र घाँटीमा दुई तोलाको चाँदीको सिक्रीदेखेपछि एकाएक ती लुट्ने मनसाय बनेको प्रहरीले बताएको छ ।
गहना लुट्ने क्रममा बालिका चिच्याउँदै प्रहरी र घर समाजमा भनिदिने चेतावनी दिन थालेपछि आँफु जोगिन बालिकाको मुख र घाँटी अठ्याएर हत्या गरेको साबिति बयान सुनारले प्रहरी समक्ष गरेका छन् ।
हत्यापछि समिरले एन्जलाले प्रयोग गरेको साइकल पानीमा, चप्पल झाडीमा फेला परेका थिए । त्यसको दुई दिन पछि एन्जलको लास गुडिखोला किनारमा बालुवामा गाडेको अवस्थामा फेला परेको थियो ।
असोज २१ गते जिल्ला प्रहरी कार्यालय बर्दियाबाट गएको इन्स्पेक्टर नवीन चापागाईंको टोलीले तिरुवालाई पक्राउ गर्न सफल भएको थियो। उनको बर्दिया जिल्ला अदालतबाट म्याद थप गरेर आबश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।
एन्जल सानीआमासँग बुटवलमा बसेर अध्ययन गरिरहेकी थिइन्। कक्षा ४ मा अध्ययनरत उनी दसैं मनाउन सानीआमासँगै बर्दियास्थित घरमा आएकी थिइन्। गेरूवा – ३ गणेशपुरस्थित ठूली आमाको छोरा काका नाता पर्ने बलबहादुर रोकायाको १८ गते बिहे थियो। एन्जल बिहे घरबाट कपडा लिन भनेर साइकलमा घरतर्फ जाँदै गर्दा उनको हत्या भएको थियो।