नेपालगन्ज । नेपालगन्जको मौरी रेस्टुरेन्टको जुवाखालबाट पक्राउ परेका प्रहरीका वरिष्ठ सईसहित १४ जना नामुद हाइप्रोफाइल जुवाडेलाई ७ दिन हिरासतमा राख्न अनुमति मिलेको छ।
जिल्ला प्रशासन कार्यालय बाँकेले आज उनीहरुविरुद्ध ७ दिनको म्याद थप गरेर प्रहरीलाई जुवा ऐन अन्तर्गतको कसुरमा अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी दिपक पातलीले जानकारी दिएका छन् ।
बुधबार राति ११ बजे बाँके प्रहरी प्रमुख एसपी अंगुर जिसीको निर्देशनमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले नेपालगन्ज-४ स्थित मौरी रेस्टुरेन्टबाट १३ लाख ६३ हजार ८ रुपैयाँ,८ बुक खोलिएको र २ बुक नखोलिएको तासको गडडीसहित प्रहरीका वरिष्ठ सई रमेश शाहीसहित नेपालगन्जमा नाम चलेका व्यक्तिहरुलाई पक्राउ गरेको थियो। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनीहरुमध्ये केही पटके (पटकपटक) रहेको भेटिएको छ।
जुवाखालबाट पक्राउ पर्नेहरुमा नेपालगन्ज उपमहानगरपालिका-२ न्यूरोड बस्ने २८ वर्षीय बिज्ञान श्रेष्ठ, नेपालगन्ज-१२ मुक्तिपुर बस्ने ३६ वर्षीय गणेश बस्नेत( हेर्न गएका), नेपालगन्ज -१६ जयसपुरका ४६ वर्षीय सेताज अन्सारी, नेपालगन्ज-९ त्रिभुवन चोकका २४ वर्षीय ऋषि गुप्ता, नेपालगन्ज-४ बसपार्क बस्ने ५२ वर्षीय तरुण गौतम, नेपालगन्ज -१२ कोरियनपुर बस्ने ३७ वर्षीय बिनोद खड्का, नेपालगन्ज-४ का ४८ वर्षीय सफिक बेहना (साथीहरूसँग हेर्न गएका), नेपालगन्ज-१८ बस्ने ४७ वर्षीय संगम शाह रहेका छन् ।
त्यसैगरी नेपालगन्ज -४ बसपार्क बस्ने ५० वर्षीय मधुसुधन दाहाल, नेपालगन्ज-४ बसपार्क बस्ने ४५ वर्षीय मेघराज गौतम, नेपालगन्ज -१ बस्मे ४५ वर्षीय नेपाल प्रहरीका वरिष्ठ सई रमेश शाही(केही वर्ष अगाडि ८ वर्षसम्म प्रहरीको लेखापाल बसेका), कोहलपुर नगरपालिका-११ पिपल चौतारा बस्ने ३८ वर्षीय भागिरथ यादव, कोहलपुर -९ झण्डहवा बस्ने ४२ वर्षीय नन्दलाल यादव र कोहलपुर -कोहलपुर -२ लक्ष्मणपुर बस्ने ४० वर्षीय सुमन केसीलाई बाँके प्रहरीले पक्राउ गरेको डीएसपी पातलीले बताए।