नेभिगेशन
नेपाल प्रहरी

अत्यधिक चिसो बढेपछि हुम्लाको लिमी प्रहरी चौकी सदरमुकाम सारियो

हुम्ला। हुम्लाको उत्तरी क्षेत्र नाम्खा गाउँपालिका–६ लिमीस्थित इलाका प्रहरी चौकी सुनखानी अत्यधिक चिसोका कारण सदरमुकाम सिमकोट स्थानान्तरण गरिएको छ।

लिमीसहित उच्च भेगमा चिसो निकै बढेर तापक्रम माइनसमा झरेकाले प्रहरी चौकी ६ महिनाका लागि सदरमुकाम सारिएको हो। गत असोज २४ र २५ गते परेको हिमपातले चिसो बढेपछि चौकीमा कार्यरत सुरक्षाकर्मीहरू सिमकोट फर्केका हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले चिसो निकै बढेपछि सुरक्षाकर्मीलाई फिर्ता बोलाइएको जानकारी दिए। २३ जनाको दरबन्दी रहेको उक्त चौकीमा हाल प्रहरी नायब निरीक्षक नरबहादुर चन्दको नेतृत्वमा १४ प्रहरी कार्यरत थिए।

प्रहरी नायब निरीक्षक चन्दले बाक्लो हिमपातपछि चिसोले बस्न नसक्ने अवस्था आएपछि जिल्लालाई खबर गरिएको बताए। उनका अनुसार, धारामा पानी जम्ने र तापक्रम माइनस आठ डिग्री सेल्सियसमा झरेपछि काम गर्न कठिन भएको थियो।रासस।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्