नेभिगेशन
नेपाल प्रहरी

बर्दियामा बाख्रा खोरभित्र जुवा खेल्दै गरेको अवस्थामा ६ जना जुवाडे पक्राउ

बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिका क्षेत्रबाट प्रहरीले जुवाखालबाट ६ जना जुवाडेहरुलाई पक्राउ गरेको छ।

विशेष सूचना पाएर गएको इलाका प्रहरी कार्यालय जयनगरको प्रहरी टोलीले बारबर्दिया नगरपालिका-३ बेल्बज्जाका राम दुलारे थारुको बाख्रा खोरमा सन्चालन गरिएको जुवाखालबाट ६ जना जुवाडेहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा बारबर्दिया नगरपालिका-३ बेल्बज्जाका ३५ वर्षीय कालुराम थारु,सोही स्थानकै क्रमशः  ३५ वर्षीय लाल बहादुर थारु,५७ वर्षीय चुन्हा थारु,५० वर्षीय अतिराम थारु, ३४ वर्षीय ठग्गु थारु र ३२ वर्षीय बिपीन भनेर चिनिने दिपेश थारु रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट ७ बुक तास र नगद ४७ हजार ४८० रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। मंगलबार राति १० बजे पक्राउ परेका उनीहरुविरुद्ध जिल्ला प्रशासन कार्यालय बर्दियाबाट ५ दिनको म्याद लिएर इलाका प्रहरी कार्यालय जयनगरमा राखी थप अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी बर्दियाले जानकारी दिएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्