काठमाडौँ । नेपाल प्रहरीका ५ एसएसपी डीआईजीमा बढुवामा हुँदा हाल ५ जना एसएसपी दरबन्दी रिक्त भएको छ। गृह मन्त्रालयले एसएसपी भूपेन्द्र बहादुर खत्री, सानुराम भट्टराई, ओम प्रसाद अधिकारी, शेखर खनाल र अवि नारायण काफ्लेलाई डीआईजीमा बढुवा सिफारिस गरेपछि अहिले ५ एसएसपी पद रिक्त भएको हो।
अहिले रिक्त ५ एसएसपीमा बढुवाका लागि १७ जना एसपीहरु प्रतिस्पर्धामा छन् । पछिल्लो बढुवामा छटेका हालको वरियतामा एक नम्बरमा रहेका एसपी विमल बस्नेत सबैभन्दा मुख्य दाबेदार हुन् । एसपी बस्नेत २०५३ पुस ९ मा राष्ट्रिय अनुसन्धान विभागमा आएर २०५८ मा नेपाल प्रहरीमा प्रवेश गरेका हुन् ।
यसैगरी मेरिट लिस्टको दोस्रोमा राम प्रकाश शाह रहेका छन् । शाह २०५५ भदौमा राष्ट्रिय अनुसन्धानमा भर्ना भएर प्रहरीमा आएका हुन् ।
उनीहरुपछि वि.सं.२०७७ माघ २० मा एसपीमा बढुवा भएका अधिकृतहरु एसएसपी बढुवाका लागि प्रतिस्पर्धामा छन् । जसमा भुवनेश्वर तिवारी,ऋषिराम कँडेल, सुरेश काफ्ले,अमरेन्द्र बहादुर सिंह,श्याम सिंह चौधरी,नकुल पोखरेल,पदम बहादुर बिष्ट,सुवास चन्द्र बोहरा,वासुदेव खतिवडा,प्रजित केसी,राजकुमार सिलवाल,योगेन्द्र सिंह थापा,महेन्द्र कुमार श्रेष्ठ,दिलिप घिमिरे र वीरेन्द्र बहादुर शाही बढुवाका आकंक्षी रहेका छन् ।
अहिले एसएसपी रिक्त संख्या ५ रहे पनि हिजो मात्रै एसएसपी प्रकाश रानाभाटले दिएको राजीनामा स्वीकृत भए रिक्त संख्या ६ हुनेछ। सोही अनुसार ६ जना एसपी एसएसपीमा बढुवा हुनेछन् ।
अहिलेको एसएसपी बढुवामा सिट थोरै तर प्रतिस्पर्धी धेरै हुँदा प्रहरी भित्रै अब्बल र काबिल प्रहरी अधिकृतहरू यसपटक पनि छुट्न सक्ने डर रहेको प्रहरी अधिकृतहरू बताउँछन् ।