नेभिगेशन
नेपाल प्रहरी

अनलाइन विज्ञापनको 'लिंक' पठाएर बैंकबाट पैसा ठगी गर्ने गिरोहका ३ जना साइबर ब्यूरोको नियन्त्रणमा

काठमाडौँ । अनलाइन विज्ञापनको प्रलोभन देखाएर ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। आकर्षक विज्ञापनको प्रलोभनमा परेर अपरिचित लिंक क्लिक गर्न लागएर बैंक खाताबाट पैसा चोरी गर्ने गिरोहका  तीन जना 'स्क्यामर' लाई  पक्राउ गरिएको नेपाल प्रहरीको साइबर ब्युरोले जानकारी दिएको छ।

साइबर ब्युरोका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोकस्थित चौतारा साँगाचोकगढी नगरपालिका-११ का ४० वर्षीय राजन गिरी, ओखलढुंगाको चम्पादेवी गाउँपालिका-८ घर भएर हाल काठमाडौँको बुढानिलकण्ठ बस्ने २६ वर्षीया मिना लकन्द्री र भारत बिहारका २६ वर्षीय आदित्य कुमार रहेका छन्।

पक्राउ परेका गिरोहका उनीहरुले फेसबुकमा विभिन्न बैंकको नाममा 'सर्भे लिंकमा क्लिक गरी बोनस प्राप्त गर्नुहोस्' जस्ता आकर्षक विज्ञापन पोस्ट गर्ने गरेको साइबर ब्युरोले जनाएको छ। ब्युरोका अनुसार उक्त लिंकमा क्लिक गरेपछि प्रयोगकर्ताको बैंक खाताबाट रकम अनलाइनमार्फत अन्य खातामा ट्रान्सफर भई ठगी हुने गरेको पाइएको छ।

यसरी ठगिएका पीडितहरूबाट उजुरी प्राप्त भएपछि ब्युरोले प्राविधिक अनुसन्धान अगाडि बढाएको थियो। अनुसन्धानका क्रममा गिरोहको पहिचान भएपछि ब्युरोको टोलीले उनीहरूलाई काठमाडौँको ठमेलस्थित छायाँ सेन्टर कम्प्लेक्सबाट पक्राउ गरेको साइबर ब्यूरोले जानकारी दिएको छ । 

उनीहरूको साथबाट प्रहरीले नेपाली तथा विदेशी नगद, विभिन्न बैंकका एटीएम कार्ड, भारतीय नम्बरका सिम कार्ड, मोबाइल फोन र क्यासिनो कार्डसमेत बरामद गरेको  ब्यूरोले जनाएको छ।

पक्राउ परेका तीनै जनालाई विद्युतीय माध्यमसम्बन्धी कसुरमा थप अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी कारबाही अगाडि बढाइएको ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिपक राज अवस्थीले जानकारी दिए । प्रहरीले सामाजिक सञ्जालमा आउने यस्ता अपरिचित र शंकास्पद लिंकमा क्लिक नगर्न सबैलाई अनुरोध गरेको छ।

यस्ता अनलाइनबाट हुने ठगीबाट सतर्क रहन र जथाभावी यस्ता अनलाइनबाट आउने लिंकलाई इग्नोर गर्न साइबर ब्युरोले सम्बन्धित सबैमा अनुरोध गरेको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्