नेभिगेशन
नेपाल प्रहरी

ललितपुरको इमाडोलमा लाखौँको गहना चोरी:३ जना मुख्य आरोपीसँगै गहना किन्ने पक्राउ

ललितपुर  । ललितपुरको इमाडोलमा भएको लाखौँ मूल्य बराबरको गहना चोरीकाण्डमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई हिरासतमा लिएको छ। कात्तिक १९ गते एक घरमा धावा बोलेर करिब २१ लाख ८३ हजार रुपैयाँ बराबरका सुमचाँदीका गहना तथा नगद चोरी भएको ललितपुर प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीका अनुसार पक्राउ परेकामध्ये नुवाकोटका ४१ वर्षीय दिनेश विश्वकर्मा, रामेछापका ३२ वर्षीय दीपक थापा मगर र रामेछापकै  ४० वर्षीय तीर्थबहादुर थापा मगर रहेका छन्। उनीहरु सबै ललितपुरमै बसोबास गर्दै आएका थिए र महालक्ष्मी नगरपालिका–८ लुभुबाट पक्राउ परेका हुन्।

चोरीमा प्रयोग भएको गहनाको किनबेचमा संलग्न रहेकाले खोटाङका ५८ वर्षीय भिमे कामीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। उनी भक्तपुरको लोकन्थलीमा सुनचाँदी पसल सञ्चालन गर्दै आएका थिए। कामीलाई समेत प्रतिवादी बनाइ केस अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीले ललितपुर जिल्ला अदालतबाट म्याद लिएर सबै आरोपितको विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्