लुम्बिनी प्रदेश । सशस्त्र प्रहरी बल, नेपाल नं. ५ बिन्ध्याबासिनी बाहिनी लुम्बिनी प्रदेशको डीआईजी दीपेन्द्र कुँवरले कमाण्ड सम्हालेको सात महिनामै सीमा सुरक्षा संयन्त्रमा आएको परिवर्तन आज प्रदेशभरि स्पष्ट देखिन्छ। सीमाक्षेत्र, राजमार्ग र समुदाय—जताततै सशस्त्र प्रहरीको सक्रियता, कडाइ र परिणाममुखी कार्यशैलीले लुम्बिनी प्रदेशलाई पछिल्ला वर्षकै सबैभन्दा प्रभावकारी सुरक्षा अवस्थामध्ये एकमा पुर्याएको छ।
डीआईजी कुँवरको नेतृत्वमा रहेको पश्चिम नवलपरासीदेखि बर्दियासम्म सशस्त्र प्रहरीको अवैध तस्करी नियन्त्रण अभियान निकै सफल रह्यो। सूचनामूलक अपरेसन, दैनिक गस्ती र आधुनिक निगरानी प्रणालीको प्रयोगसँगै सञ्चालन भएका अभियानहरूले पछिल्लो सात महिनामा २० करोड रुपैयाँभन्दा बढी मूल्यका अवैध सामग्री बरामद गरिएको छ। तस्करीमा संलग्न अनेक समूहहरू विखण्डित हुँदै दर्जनौँ व्यक्ति पक्राउ परेका छन्। सीमाक्षेत्रमा अवैध ओसारपसारका गतिविधि तीव्र गतिमा घट्दै गएको सुरक्षा स्रोत बताउँछन्।
लागुऔषध नियन्त्रणमा लागू गरिएको ‘शून्य सहनशीलता नीति’ले राजमार्ग तथा नाकाहरूमा कडाइ थपिएको छ। विभिन्न चेकप्वाइन्टमा बरामद भएका प्रतिबन्धित पदार्थ र पक्राउ परेका तस्करहरूले प्रदेशमा लागूअपराध नियन्त्रणको प्रभावकारिता झनै प्रष्ट्याएका छन्।
सीमावर्ती नदी–खोलामा भइरहेको अवैध उत्खननविरुद्ध सशस्त्र प्रहरीले चलाएको कारबाही विशेष प्रभावकारी बन्यो। उत्खननमा प्रयोग भएका मेसिनरी नियन्त्रण, अवैध सामग्री जफत र संलग्न व्यक्तिमाथि कानुनी कारबाहीले वातावरणीय जोखिम तथा सीमा सुरक्षामा परेको नकारात्मक प्रभावलाई न्यून पारेको छ।
सीमा सुरक्षालाई नयाँ उचाइमा लैजाँदै सशस्त्र प्रहरीले लुम्बिनी प्रदेशका सीमा नाकामा गर्दै आएका २४ सैं घन्टा एकल सीमा गस्तीलाई अत्यन्त सशक्त बनाएको छ। साथै, भारतको सशस्त्र सीमा बल (एसएसबी) सँग नियमित संयुक्त गस्ती सञ्चालन हुँदा सीमामा हुने आपराधिक गतिविधिको जोखिम कम हुनुका साथै दुवै पक्षबीचको समन्वय अझै मजबुत भएको छ।
सशस्त्र प्रहरी मानव बेचबिखन नियन्त्रणमा पनि अग्रपंक्तिमा रहेको छ। सीमाबाट लैजाने प्रयासमा परेका महिलाहरू उद्धार हुनुका साथै मानव तस्करीमा संलग्न व्यक्तिहरू पक्राउ परेपछि समुदाय–सशस्त्र प्रहरी सहकार्यमा सकारात्मक प्रभाव परेको छ।
बाढी, पहिरो, डुबान र आगलागीजस्ता विपद्को बेला द्रुत मोविलाइजेसन प्रणालीमार्फत तत्काल उद्धार तथा सहायता प्रदान गर्दै सशस्त्र प्रहरी निरन्तर अग्रपंक्तिमा उभिन सफल रह्यो। राजमार्ग सुरक्षा, रात्रीगस्ती, दुर्घटना नियन्त्रण र यातायात अनुशासनका प्रयासहरूले प्रदेशका मुख्य मार्गहरू अझ सुरक्षित बनेका छन्।
सशस्त्र प्रहरीसँग सीमाबासी कार्यक्रम अन्तर्गत सीमाबासीसँग समुदायमैत्री कार्यक्रम, विद्यालय तथा स्थानीय बस्तीमा सञ्चालित सचेतना अभियान र प्रत्यक्ष संवादले सशस्त्र प्रहरी–समुदायबीचको सम्बन्ध पनि झनै सुदृढ भएको छ।
समग्रमा, सात महिनाको छोटो अवधिमै तस्करी नियन्त्रणदेखि उत्खनन रोकथाम, सीमा अपराधदेखि विपद् उद्धारसम्म देखिएको व्यापक सुधारले डीआईजी कुँवरको कमाण्डलाई लुम्बिनी प्रदेशकै हालसम्मकै सबैभन्दा सक्रिय, परिणाममुखी र प्रभावकारी सुरक्षा नेतृत्वका रूपमा स्थापित गरिदिएको छ।