नेभिगेशन
नेपाल प्रहरी

बाँकेका फरार प्रतिवादी बर्दिया प्रहरीको नियन्त्रणमा, ब्राउन सुगरसहित समातिए सिराहाका विनोद

बर्दिया। फरार प्रतिवादीहरूलाई पक्राउ गर्ने अभियानअन्तर्गत बर्दिय प्रहरीले विभिन्न मुद्दामा सजाय तोकिए पनि फरार रहेका तीन जनालाई पक्राउ गरेको छ।

अभियानकै क्रममा केन्द्रीय कारागार काठमाडौँबाट बैंकिङ कसुर मुद्दामा ४ वर्ष कैद सजाय तोकिएर फरार रहेका बाँकेको कोहलपुर नगरपालिका–१२ की ४४ वर्षीय सिता खत्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ। उनी लामो समयदेखि फरार रहेकाले आवश्यक कारबाहीका लागि कारागार सुरक्षा गार्ड गुलरिया, बर्दियामा बुझाइएको बर्दिया प्रहरीले जनाएको छ।

यसैगरी, बर्दिया जिल्ला अदालतको २०८१ माघ २७ को फैसलाअनुसार लागुऔषध मुद्दामा १३ दिन कैद सजाय तोकिएर फरार रहेका कोहलपुर -१२ कै २८ वर्षीय घनश्याम खत्रीलाई पनि पक्राउ गरिएको छ। उनलाई आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइ आवश्यक कारबाहीका लागि बर्दिया जिल्ला अदालतमा उपस्थित गराइएको छ।

त्यस्तै, बर्दिया जिल्ला अदालतकै २०८१ कात्तिक १२ को फैसलाअनुसार लागुऔषध मुद्दामा ६ महिना कैद सजाय तोकिएका कोहलपुर -१२ कै ३२ वर्षीय अङ्कित चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनी पनि लामो समयदेखि फरार रहँदै आएका थिए।

यसैगरी बर्दिया प्रहरीले लागुऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ। प्रहरी चौकी जमुनीबाट खटिएको  टोलीले बर्दियाको बढैयाताल गाउँपालिका–२ स्थित फुटाहा चेकपोष्ट नजिक भारतबाट नेपालतर्फ आउँदै गरेका एक पैदल यात्रुलाई शंका लागी चेकजाँच गरेको थियो।

चेकजाँचको क्रममा सिराहा जिल्लाको सिमरा घर भएका २८ वर्षीय विनोद कुमालको शरीरमा लुकाईछिपाई राखिएको अवस्थामा हरियो रङ्गको प्लास्टिकमा रातो टेपले बेरिएको १६० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ।

ब्राउन सुगरधसहित पक्राउ परेका कुमाललाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय मैनापोखरमा राखेर आवश्यक अनुसन्धान भइरहेको बर्दिया प्रहरीले जनाएको छ।

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्