नेभिगेशन
नेपाल प्रहरी

झण्डै ५१ ग्राम खैरो हेरोइनसहित बर्दियाबाट दुई युवक लागुऔषध ब्यूरोको नियन्त्रणमा

बर्दिया । बर्दियाको बढैयातालबाट ५० ग्राम ९७० मिलिग्राम खैरो हेरोइनसहित प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जबाट खटिएको टोलीले  बर्दियाको गुलरिया नगरपालिका–११ का २६ वर्षीय प्रवेश रैदास र गुलरिया नगरपालिका–१२ का १६ वर्षीय पप्पु रैदासलाई ५० ग्राम ९७० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो।

विशेष सूचनाको आधारमा शुक्रबार साँझ बर्दियाको बढैयाताल गाउँपालिका–६, मैनापोखर चोकमा बागमती प्रदेश नम्बर ०२०२७ प ०७४१ को मोटरसाइकलसहित उभिएको अवस्थामा प्रहरीले उनीहरूलाई फेला पारेको थियो।

जाँच गर्दा प्रवेश रैदासले लगाएको कालो पाइन्टको बायाँ अगाडिको खल्तीभित्र लुकाइ राखिएको अवस्थामा प्लास्टिकसहित तौल ६३ ग्राम १३० मिलिग्राम भएको खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ। प्लास्टिक हटाएर शुद्ध तौल गर्दा ५० ग्राम ९७० मिलिग्राम भएको पाइएको प्रहरीले जानकारी दिएको छ।

उनीहरूको साथबाट एक थान  मोटरसाइकल र दुई थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ। खैरो हेरोइनसहित पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मैनापोखर, बर्दियामा बुझाइएको लागुऔषध नियन्त्रण ब्यूरोले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्