नेभिगेशन
नेपाल प्रहरी

नेपालगन्जमा लागुऔषध नियन्त्रण ब्यूरोको सफल अपरेसन: १०० ग्राम हेरोइनसहित ४ जना पक्राउ

बाँके। अवैध लागुऔषध कारोबारलाई निस्तेज पार्ने लक्ष्यसहित लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्ज शाखा पछिल्ला दिनमा व्यापक, तीव्र र परिणाममुखी अपरेसनमा उत्रिएको छ। नेपाल–भारत सीमा नाका तथा प्रमुख बजार क्षेत्रसम्म निगरानी कडा बनाइएपछि यसको प्रत्यक्ष प्रभाव देखिन थालेको जनाएको छ।

यही अभियानअन्तर्गत विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण  ब्यूरो शाखा कार्यालय नेपालगन्जबाट असई नवीन कुमार शाहीको कमाण्डमा खटिएको टोलीले सोमबार साँझ १०० ग्राम १६० मिलिग्राम खैरो हेरोइनसहित ४ जनालाई पक्राउ गरेको हो।

ब्यूरोले नेपालगन्ज–१४ मा रहेको ‘मेरो प्लानेट’ नजिक ठूलो परिमाणमा लागुऔषध कारोबार भइरहेको सूचना पाएपछि सोमबार साँझ करिब ५ बजे २४ वर्षीय सुधिव भट, २६ वर्षीय पवन कुमार शर्मा (दुवै नेपालगन्ज–१४) र डुडुवा–६ का ३२ वर्षीय राजु साईलाई पक्राउ गरेको थियो। उनीहरूले भे १२ प १२२९ नम्बरको मोटरसाइकल रोकेर हेरोइनको खरिद–बिक्री गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो।

खानतलासी गर्दा सुधिव भटको पाइन्टको खल्तीबाट ६४ ग्राम ६९० मिलिग्राम खैरो हेरोइन र ४ थान मोबाइल फोन बरामद गरिएको ब्यूरोले जनाएको छ। प्रारम्भिक मौखिक सोधपुछका क्रममा उनीहरूले उक्त हेरोइन नेपालगन्ज–१३ उदयपुरुवाका ५९ वर्षीय सुरत खटिकबाट ल्याएको बताएका थिए।

त्यसपछि ब्यूरोको टोलीले सोमबार साँझ साढे ६ बजेतिर उदयपुरुवामा सुरत खटिकलाई फेला पारी खानतलासी गर्दा उनको खल्तीबाट थप ३५ ग्राम ४७० मिलिग्राम हेरोइन र एक थान मोबाइल फेला परेको थियो।

दुवै घटनाबाट बरामद १०० ग्राम १६० मिलिग्राम खैरो हेरोइन, ५ थान मोबाइल फोन र एक थान मोटरसाइकलसहित चारै जनालाई जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको ब्यूरोले जनाएको छ।

ब्यूरोले पछिल्ला दिनमा सीमा नाका आसपासका भित्री बस्ती, जोखिमयुक्त ट्रान्जिट बिन्दु, होटल–लज तथा बजार क्षेत्रमा विशेष निगरानी कडा पार्दै आएको छ। ‘लागुऔषध कारोबारलाई कुनै पनि अवस्थामा फस्टाउन नदिने’ नीति अनुसार निगरानीलाई बहुआयामिक बनाइएको ब्यूरोले जनाएको छ।

यसअघि केही दिनअघि पनि ब्यूरो शाखा कार्यालय नेपालगन्जले बर्दियाको बढैयाताल क्षेत्रमा सञ्चालन गरिएको अपरेसनबाट ५१ ग्रामभन्दा बढी खैरो हेरोइन बरामद गरी दुई जनालाई नियन्त्रणमा लिएको थियो। निरन्तर सफलता देखिनु ब्यूरोको कडा नीति र सक्रिय मोडेलको प्रतिफल भएको बताइएको छ।

सीमा नाका हुँदै भित्रिने लागुऔषध आपूर्ति चक्रलाई भत्काउन ब्यूरोले सूचना संजाल, गोप्य स्रोत परिचालन र निगरानीलाई थप तीव्र बनाइरहेको स्पष्ट देखिन्छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्