निरक बिक/बर्दिया । एसपपी सरोज पौडेलको कमाण्डको जिल्ला प्रहरी कार्यालय बर्दियाले मंसिर महिनाभर जिल्लामा भएका जघन्य तथा संगठित अपराधहरूमा संलग्न भएकाहरुलाई पक्राउ गर्दै उल्लेखनीय सफलता हासिल गरेको छ। हत्या, डकैती, लागुऔषध, फरार प्रतिवादी पक्राउ र भन्सार छलीका घटनामा संलग्न अभियुक्तहरूलाई नियन्त्रणमा लिई कानुनी दायरामा ल्याइएको हो।
राजापुर नगरपालिका–४ स्थित डिल्लीबहादुर चौधरीको कृषि फार्ममा काम गर्ने १९ वर्षीय निरज चौधरीको गोली प्रहारबाट मृत्यु भएको घटनामा प्रहरीले मुख्य प्रतिवादीसहित संलग्न सबैलाई पक्राउ गरेको छ। बर्दिया प्रहरीले महाविर चौधरी (मुख्य प्रतिवादी) लाई कैलालीको कैलारी गाउँपालिकाबाट पक्राउ गरेको हो। यस घटनामा प्रमाण नष्ट गर्ने र अभियुक्तलाई भगाउन सहयोग गर्ने राम कुमारी थारु, बुद्दी प्रसाद थारु र राहुल चौधरीलाई घटनास्थलबाटै पक्राउ गरिएको थियो। घटनामा प्रयोग भएको पेस्तोल, म्यागजिन, गोली, मोटरसाइकल तथा विभिन्न कागजातहरू बरामद भइसकेका छन्। सबै प्रतिवादीहरूलाई ज्यान सम्बन्धी कसूरमा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ।
यसैगरी, बालिकामाथि जबरजस्ती करणी र हत्या गरिएको कर्तव्य ज्यानसम्बन्धी मुद्दामा संलग्न समिर सुनार (२१ वर्ष), टेक बहादुर शाही (४२ वर्ष) र शिवु शाही (२४ वर्ष) लाई पक्राउ गरी सम्मानित बर्दिया जिल्ला अदालतको आदेशअनुसार पुर्पक्षका लागि कारागार कार्यालय बर्दियामा पठाइएको छ। यो अनुसन्धान पनि एसपी सरोज पौडेलको कमाण्डमा सम्पन्न भएको प्रहरीले जनाएको छ।
लागुऔषध नियन्त्रणतर्फ मंसिर १ देखि २६ गतेसम्म ७० ग्राम ४५० मिलिग्राम ब्राउन सुगर बरामद गर्दै १८ जना पुरुष लाई पक्राउ गरिएको छ। पक्राउ परेकाहरूविरुद्ध लागूऔषध कसूरमा अनुसन्धान अघि बढाइएको छ।
फैसला कार्यान्वयन अभियानअन्तर्गत अदालतबाट सजाय तोकिएका १७ जना फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा राम गोपाल यादव, प्रेमलाल खटिक, रितेश यादव, बृजेश यादव, नेपालु चौधरी, राम प्रसाद थारु (चेक अनादर), बिहारीलाल थारु (पशुपंक्षी कसूर), रुपेश मल्ल (नकबजनी चोरी), सुशिल परियार, सन्दीप चौधरी, आशिष थारु (चोरी), श्रीराम चमार (जबरजस्ती करणी), बन्सा भन्ने अंकित चौधरी, घनश्याम खत्री (लागुऔषध), किसन भन्ने किसा गारु चौधरी, तुलराम थारु (अवैध काठ ओसारपसार),र मोहम्मद अहमद शेस (बाल यौन दुरूपयोग) रहेका छन्। उनीहरूलाई अदालतमा उपस्थित गराइएको छ।
भन्सार छली तथा अवैध कारोबार नियन्त्रणतर्फ मंसिर महिनामा रु. २ लाख ८१ हजारभन्दा बढी मूल्यका अवैध सामान बरामद गरिएको छ। साथै, बाँसगढी नगरपालिका–१ चेपाङ बजारमा चेकजाँचका क्रममा अवैध जडीबुटी (टिमुर) बोकेको ट्रकसहित तेज बहादुर जागरी (४३ वर्ष), कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–२ लाई पक्राउ गरिएको छ। सो घटनामा करिब रु. ४ लाख ६२ हजार मूल्य बराबरको ४६२ के.जी. ९०० ग्राम टिमुर र २० लाख रुपैयाँ बराबरको ट्रक बरामद गरिएको हो।
अपराध नियन्त्रणसँगै समुदाय सचेतनामा पनि बर्दिया प्रहरी सक्रिय देखिएको छ। एसपी सरोज पौडेलको कमाण्ड रहेको बर्दिया प्रहरीले लागूऔषध, लैङ्गिक हिंसा र साइबर अपराधविरुद्ध समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विद्यालय तथा समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ।
जिल्ला प्रहरी कार्यालय बर्दियाले एसपी सरोज पौडेलको कमाण्डमा आगामी दिनमा पनि अपराध नियन्त्रण र कानुन कार्यान्वयनलाई थप प्रभावकारी बनाउने जनाएको छ।
यस्तो छ बर्दिया प्रहरीको बुँदागत सम्पूर्ण घटना विवरणहरु-
जिल्ला प्रहरी कार्यालय बर्दियाःमिति २०८२ मंसिर महिनाका सफल अनुसन्धानकार्यहरु।
घटना नं-१
१. मिति २०८२।०८।२१ गते बिहान अन्दाजी ०८:३० बजेको समयमा जिल्ला बर्दिया राजापुर न.पा. वडा नं.४ स्थित रहेको हमार थारु घर थारु रेष्टुरेण्ट संगै जोडिएको डिल्ली बहादुर चौधरीको कृषि फार्म मा काम गर्दै आएका जिल्ला दाङ, साविक हेकोली गा.वि.स. वडा नं. ५ र हाल ऐ. तुलसीपुर न.पा. वडा नं. १२ घर भएको बर्ष १९ को निरज चौधरीको घाटीमा गहिरो चोट लागि घाईते भई उपचारको लागि सञ्जिवनी कलेज अफ मेडिकल साईन्सेस प्रा.लि. नेपालगंज अस्पतालमा ल्याएको छ भनि ११:०० बजेको समयमा मात्र सोही अस्पतालमा कार्यरत प्रहरी कर्मचारी मार्फत जिल्ला प्रहरी कार्यालय बर्दियामा जानकारी प्राप्त भएको ।
२. सुचना पश्चात इ.प्र.का. राजापुर बर्दियाबाट प्र.ना.उ. कबिन्द्र सिंह बोहराको कमाण्डमा अनुसन्धान अधिकृत सहितको ७ जना प्रहरी टोली तत्कालै घटनास्थलमा खटिई गई प्रारम्भिक अनुसन्धान कार्य सुरु गरेको।
३. जि.प्र.का. बाट प्र.नि. प्रकाश सिंह कार्कीको कमाण्डमा थप टोली समेत सोही दिन वारदात स्थलमा खटी गएको ।
४. जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमाण्डमा ७ जनाको विशेष अनुसन्धान टोली गठन गरिएको।
५. घटनास्थलमा रहेको सवुत प्रमाणलाई जिल्ला बर्दिया राजापुर ४ बस्ने बर्ष ५० को बुद्दी प्रसाद थारुले पानी तथा खरानी हाली नष्ट गरेको। राम कुमारी थारुले सबुत प्रमाण नष्ट गर्न निर्देशन दिने । घटनालाई गुपचुप राख्ने कार्य गरेको ।
६. निज निरज चौधरीलाई हमार थारु घर थारु रेष्टुरेण्टका संचालक राम कुमारी थारु र निजको छोरा राहुल चौधरीले वारदात समयमा घटनास्थलमा भएर पनि घटनाको बारेमा कोही कसैलाई खबर नगरी भे १ च २४०९ नम्बरको एम्बुलेन्समा राखी सञ्जिवनी कलेज अफ मेडिकल साईन्सेस प्रा.लि. नेपालगंज अस्पताल तर्फ लिई गएको ।
७. राहुल थारुले मुख्य प्रतिवादीलाई आफ्नो सु.प.प्र.०१-००९ प ४९१३ नं. को मो.सा. र सो मो.सा.को कागजातहरु उपलब्ध गराई वारदात स्थलबाट भगाउन सहयोग गरेको।
८. घटनास्थलमा पिन्दीमा KF 7.65 लेखेको गोलीको खोका थान-१ फेला पारी रित पुर्वक बरामद गरी ल्याएको ।
९. मिति २०८२।०८।२१ गते राम कुमारी थारु, बुद्दि प्रसाद थारु र राहुल चौधरीलाई वारदात स्थलबाटै पक्राउ गरिएको ।
१०. मिति २०८२।०८।२५ गते जिल्ला कैलाली कैलारी गा.पा. वडा नं ०२ मझरा गाउँ बाट महाविर चौधरी (मुख्य प्रतिवादी) लाई पक्राउ गरिएको ।
११. प्रतिवादी महाविर चौधरीले जि. बर्दिया राजापुर ७ बड्कीभिमापुर स्थित भाडामा लिई निजले सुत्ने कोठाभित्रबाट निजको नामको नेपाली पासपोर्ट थान-१, भारतिय आधारकार्ड थान-१, ग्लोबल IME Bank को ATM Card थान-१, भारतिय आयकर बिभाग लेखिएको PAN CARD थान-१, भारतिय सवारी दर्ता कार्ड थान-१, USA को PR Card थान-१ र लेनोभो कम्पनीको ल्यापटप थान-१ बरामद भएको ।
१२. मुख्य प्रतिवादी महाविर चौधरीले वारदातको समयमा प्रयोग गरेको र वारदात पश्चात फरार भई जि. कैलाली कैलारी गा.पा. वडा नं. ५ त्रिवेणी डाँडा स्थित रुईनीको झाँडीमा लुकाई छिपाई राखेको अवस्थामा हतियार (पेस्तोल) थान-१, म्यागजिन थान-१ र गोली २ राउण्ड बरामद भएको ।
१३. मुख्य प्रतिवादी महाविर चौधरीले वारदात स्थानबाट फरार हुँदा प्रयोग गरेको सु.प.प्र. ०१-००९ प. ४९१३ नं. को मोटरसाईकल जि. कैलाली कैलारी गा.पा. वडा नं. ५ बैजापुर स्थित लुकाई छिपाई राखेको।
१४. मृतकको बुवा मनबुझाउना थारुले मिति २०८२।०८।२२ गते इ.प्र. का. राजापुरमा जाहेरी दिएपश्चात मृतकको लाश बुझिलिएको ।
१५. पक्राउ भएका प्रतिवादीहरुलाई ज्यान सम्बन्धी कसूरमा सम्मानित बर्दिया जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान कार्य भईरहेको।
१६. पोष्टमार्टम रिपोर्ट आउन बाँकी।
घटना नं-२-( कर्तब्य ज्यान, डाँका चोरी, ज.ज.क)
मिति २०८२।०६।१७ गते बालिका परिवर्तित नामथर संकेत नं. ६६ (B३४) को डाँका र ज.ज.क. पछि हत्या भएको कर्तब्य ज्यान, ज.ज.क, डाँका चोरी सम्बन्धी कसूरमा अनुसन्धानको क्रममा खुल्न आएका, प्रतिबादीहरु जिल्ला बर्दिया गेरुवा गाउँपालिका वडा नं. ५ बस्ने बर्ष २१ को समिर सुनार, बर्ष ४२ को टेक बहादुर शाही र ऐ.ऐ. बस्ने बर्ष २४ को शिवु शाही समेत तीनजना प्रतिबादीहरुलाई सम्मानित बर्दिया जिल्ला अदालतको आदेशले पुर्पक्षको लागि कारागार कार्यालय बर्दियामा पठाईएको ।
घटना नं- २ (लागुऔषध बरामद)
बिभिन्न मितिमा यस कार्यालय तथा मातहतबाट खटिएको प्रहरी टोलीले मंसिर १ गते देखि मंसिर २६ गते सम्म कूल ७० ग्राम ४५० मिलि ग्राम लागुऔषध ब्राउन सुगर बरामद गरेको, जसमा १८ जना पुरुष पक्राउ भएकोमा लागूऔषध कसूरमा अनुसन्धान भईरहेको ।
घटना नं- ३ (फरार प्रतिबादी पक्राउ)
मंसिर महिना भित्र बिभिन्न मितिमा यस कार्यालय तथा मातहतबाट खटिएको प्रहरी टोलीले फैसला कार्यान्वयन को सिलसिलामा अदालतको बिभिन्न मितिले सजाय गरिएका १७ जना फरार प्रतिबादीहरु पक्राउ गरी सम्मानित बर्दिया जिल्ला अदालत समक्ष उपस्थित गराईएको ।
१. जि. बर्दिया गुलरिया न.पा. ११ राम गोपाल यादव (चेक अनादर)
२. जि. बर्दिया गुलरिया न.पा. ११ प्रेमलाल खटिक (चेक अनादर)
३. जि. बर्दिया गुलरिया न.पा. ११ रितेश यादव (चेक अनादर)
४. जि. बर्दिया गुलरिया न.पा. ११ बृजेश यादव (चेक अनादर)
५. जि.बर्दिया मधुवन न.पा. १ बिहारीलाल थारु (पशुपंक्षी सम्वन्धि कसुर)
६. जि. बर्दिया गुलरिया न.पा. ११ नेपालु चौधरी (चेक अनादर)
७. जि. बर्दिया गेरुवा गा.पा. न५ संकेत नं. ६६ राजापुर (०८० स) झबही (रुपेश मल्ल ) (नकवजनी चोरी)
८. जि. बर्दिया वढैयाताल गा.पा. ०९ सुशिल परियार (चोरी)
९. जि.बर्दिया गु.न.पा. १२ श्रीराम चमार (जबरजस्ती करणी)
१०. जि. बर्दिया राजापुर न.पा. १ बन्सा भन्ने अंकित चौधरी (लागु औषध)
११. जि. बर्दिया बढैयाताल गा.पा. ०८ घनश्याम खत्री (लागु औषध)
१२. जि. बर्दिया मधुवन न.पा. २ किसन भन्ने किसा गारु चौधरी (अवैध काठ ओसारपसार)
१३. राजापुर न.पा. २ सोहरीया तुलराम थारु (अवैध काठ ओसारपसार)
१४. जि. बर्दिया गुलरिया न.पा. ११ मोहम्मद अहमद शेस (बाल यौन दुरूपयोग)
१५. जि. वर्दिया गुलरिया न.पा. १० सन्दिप चौधरी (चोरी)
१६. ठाकुरबावा न.पा. १ राम प्रसाद थारु (चेक अनादर)
१७. बढैयाता गा.पा. ०९ आशिष थारु (चोरी)
घटना नं-४ (भन्सार छली तथा अवैध सामानबरामद)
यस कार्यालय तथा मातहतबाट खटिएको प्रहरी टोलीले मंसिर १ गते देखि मंसिर २६ गते सम्म कूल रु. २,८१,०५० (दुई लाख एकासी हजार पचास) बराबरको भन्सार छलीका सामानहरु बरामद गरी भन्सार कार्यालयमा बुझाएको।
मिति २०८२।०८।२२ गते जिल्ला बर्दिया बाँसगढी नगरपालिका वडा नं.०१ चेपाङ बजार स्थित रत्न राजमार्गमा बाजुराबाट नेपालगञ्ज तर्फ जाँदै गरेको चालक जिल्ला कञ्चनपुर शुक्लाफाँटा नगरपालिका वडा नं.०२ बस्ने वर्ष ४३ को तेज बहादुर जागरीले चलाई ल्याएको सु.प.प्र.०१-००१ क २१७४ नम्बरको ट्रकलाई चेकजाँच गर्दा अवैध रूपमा लैजाँदै गरेको १८ बोरा जडिवुटी (टिमुर) को अन्दाजी बजार मुल्य जम्मा रु. ४,६२,००० (चार लाख बयसट्ठी हजार) बराबर अबैध जडिवुटी (टिमुर) फेला पारी रितपूर्वक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर बाँकेमा बुझाईएको
पक्राउ -
नाम थरः- तेज बहादुर जागरी
उमेरः- ४३ वर्ष
ठेगानाः - जिल्ला कञ्चनपुर शुक्लाफाँटा नगरपालिका वडा नं.०२
बरामद-
१. २०,०००,०० (बीस लाख) मुल्य बराबरको सु.प.प्र.०१-००१ क २१७४ नम्बरको ट्रक थान १
२. विभिन्न तौलका १८ वटा प्लाष्टिकको बोरामा राखी ल्याएको अबैध (छुट पुर्जी नभएको) ४६२ के.जी. ९०० ग्राम जम्मा तौल भएको जडीवुटी (टिमुर)
६. समुदाय प्रहरी साँझेदारी कार्यक्रम
समुदाय प्रहरी साँझेदारी कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालय बर्दियाको आयोजना तथा गुलरिया नगरपालिका बर्दियाको सहयोगमा, लागूऔषध, लैङ्गिक हिंशा, साईबर अपराध लगायतका बिषयहरुमा ऐ. नगरपालिका भित्रका १२ वटै वडाहरुमा बिभिन्न बिध्यालयहरु र समुदाय स्तरमा बिध्यार्थी, अभिभावक, शिक्षक, जनप्रतिनिधिहरु समेतको संयुक्त उपस्थितिमा जनचेतनामूलक प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमहरु आयोजना गरिएको। साथै, अन्य पालिकाहरुमा समेत अभियानको रुपमा गर्ने कार्यक्रम रहेको ।