काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित धेरै जनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रणका क्रममा काठमाडौं उपत्यकादेखि मोरङ, चितवन, झापा, सुनसरी, तनहुँ, पाल्पा, मकवानपुर, रूपन्देही र नवलपरासी पश्चिमसम्म प्रहरीले ठूलो परिमाणमा लागुऔषध बरामद गरेको हो ।
काठमाडौं महानगरपालिका–२६ ठमेलबाट अवैध लागुऔषध खैरो हेरोइन २ सय ६३ ग्रामसहित मोरङ विराटनगर महानगरपालिका–१६ बस्ने ३९ वर्षीय रन्जोक उप्रेतीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उनलाई लागुऔषधसहित नियन्त्रणमा लिएको हो । यस्तै, काठमाडौं महानगरपालिका–२७ जमलबाट करिब ५ सय ग्राम गाँजासहित डडेल्धुरा अमरगढी नगरपालिका–५ घर भएका २३ वर्षीय सुशान्त धानुकलाई बिहीबार बिहान पक्राउ गरिएको छ । उनलाई प्रहरी वृत्त दरबारमार्गबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
मोरङको लेटाङ नगरपालिका–५ खेरुवा कुपटोलबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ ग्रामसहित २४ वर्षीय धिरज न्यौपानेलाई गए राति पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । चितवनको भरतपुर महानगरपालिका–२६ ज्योतीनगरबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ५० मिलिग्रामसहित भरतपुर–२५ रातापुर बस्ने ३४ वर्षीय सुजन खड्कालाई बुधबार साँझ पक्राउ गरिएको छ । उनी ना.५० प ९६९५ नम्बरको स्कुटरमा सवार अवस्थामा फेला परेका थिए ।
झापाको कन्काई नगरपालिका–६ बाट खैरो हेरोइन १ सय ७० मिलिग्रामसहित २७ वर्षीय गोपाल राजबंशीलाई बुधबार राति अस्थायी प्रहरी पोष्ट दुर्गापुरबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । यस्तै, दमक नगरपालिका–६ बस्ने ३५ वर्षीय बिर बहादुर पौडेललाई बुधबार दिउँसो इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले घर तलासीका क्रममा खैरो हेरोइन जस्तो देखिने पदार्थसहित पक्राउ गरेको छ ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८० ट्याब्लेटसहित लमजुङ दोर्दी गाउँपालिका–९ बस्ने १९ वर्षीय लक्ष्मण बिकलाई बुधबार साँझ पक्राउ गरिएको छ । मुग्लिनबाट आँबुखैरेनीतर्फ आउँदै गरेको बा.प्र ०६–००१ ज ०४७२ नम्बरको माइक्रो बस जाँच गर्ने क्रममा उनी लागूऔषधसहित फेला परेका थिए ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–७ पिपलगाछीबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ८० मिलिग्राम, डिजिटल तराजु र नगद रकमसहित २९ वर्षीय विशाल राईलाई बुधबार दिउँसो पक्राउ गरिएको छ । त्यस्तै, धरान उपमहानगरपालिका–५ देउरालीबाट नियन्त्रित लागुऔषध डिकोलिक ३ हजार ७७ ट्याब्लेट र स्पास्पेन ५ हजार १ सय ७० ट्याब्लेटसहित १९ वर्षीय समिर राईलाई बुधबार राति उनको कोठा तलासीका क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पाल्पाको रम्भा गाउँपालिका–३ सीतापहाडबाट नियन्त्रित लागूऔषध डाइजेपाम, बुप्रेनोर्फिन र फेनारगन गरी प्रत्येक ४४ एम्पुलसहित दुई जनालाई बुधबार दिउँसो पक्राउ गरिएको छ । पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका–२५ बस्ने ३० वर्षीय जयदेव विक र पोखरा–२७ बस्ने २७ वर्षीय अजित परियार रहेका छन् । उनीहरू बुटवलबाट पोखरातर्फ जाँदै गरेको मोटरसाइकलमा सवार थिए ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट करिब ११ किलोग्राम गाँजासहित चितवन राप्ती नगरपालिका–१२ बस्ने २२ वर्षीय निसान प्रजा र सोही स्थानका २२ वर्षीय सागर प्रजालाई बुधबार दिउँसो पक्राउ गरिएको छ । बस जाँचका क्रममा उनीहरू गाँजासहित फेला परेका हुन् ।
रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–९ गोनहियाबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम २ सय १० मिलिग्रामसहित चार जनालाई बुधबार बेलुकी पक्राउ गरिएको छ । पक्राउ पर्नेमा तिलोत्तमा नगरपालिकाका विभिन्न स्थानका १९ देखि २० वर्ष उमेर समूहका युवाहरू रहेका छन् ।
यसैगरी, नवलपरासी पश्चिमको सुनवल नगरपालिका–१३ प्रर्साहवाबाट गाँजा ४ किलो ९ सय ७४ ग्रामसहित दुई महिलालाई बुधबार दिउँसो पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको टोलीले घर खानतलासी गर्दा लागुऔषध फेला पारेको हो ।
यी सबै घटनाका सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयले आवश्यक अनुसन्धान अगाडि बढाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।