नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले चलाएको 'सर्च एण्ड स्विप' अपरेसनका क्रममा पछिल्लो तीन महिनामा ५३ वर्ष बढी कैद सजाय र ७३ लाख रुपैयाँ जरिवाना तोकिएका १ सय बढी फरार प्रतिवादीहरु पक्राउ परेका छन् । उनीहरुलाई पक्राउ गरेर कारबाहीको दायरामा ल्याइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।
अदालतबाट विभिन्न मितिमा फैसला भई कैद तथा जरिवाना तिर्न बाँकी रहेर फरार रहेका प्रतिवादीलाई लक्षित गरी उक्त अपरेशन सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन यो अभियान निरन्तर रूपमा सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी दिपक पातलीले जानकारी दिएका छन्।
प्रवक्ता पातलीका अनुसार चालु आर्थिक वर्षको असोज, कात्तिक र मंसिर महिनामा मात्रै १ सय ७ जना प्रतिवादी पक्राउ परेका हुन्। जसअन्तर्गत असोजमा १२ जना फरार प्रतिवादी पक्राउ पर्दा ५ वर्ष २४ दिन कैद र ११ लाख ४५ हजार ३३४ रुपैयाँ जरिवाना असुल गरिएको थियो।
त्यसैगरी कात्तिकमा ४८ जना फरार प्रतिवादी नियन्त्रणमा लिइएको हो। डीएसपी पातालीले बताएअनुसार, उनीहरूबाट १४ वर्ष कैद र २१ लाख ३४ हजार ३८४ रुपैयाँ जरिवाना असुल गरिएको हो भने मंसिरमा ४७ जना फरार प्रतिवादी नियन्त्रणमा आउँदा उनीहरूबाट ३४ वर्ष ८ महिना १६ दिन कैद र ४० लाख ३५ हजार ३८८ रुपैयाँ जरिवाना असुल गरिएको थियो।
पक्राउ परेकाहरुमध्ये बढी कैद सजाय भएकामा बर्दियाको गुलरिया नगरपालिका-१२ कान गुलाम खाँ रहेका छन् । खाँलाई अदालतले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै २५ वर्ष जेल सजाय सुनाएको थियो। उनलाई मंसिर २८ गते बर्दियाबाट पक्राउ गरिएको पातली बताए।
त्यस्तै डाँका चोरी मुद्दा दोषी ठहर भएका राप्ती सोनारी–७, बाँकेका लनन्कौ मल्लाहलाई कात्तिक १२ गते पक्राउ गरिएको डीएसपी पातलीले बताए।उनलाई अदालतले ५ वर्ष ११ महिना ४ दिन कैद र ५ हजार २८६ रुपैयाँ जरिवाना गरेको थियो। अर्को जालसाजी मुद्दामा नेपालगंज–१९ का गणेश प्रसाद कुर्मीलाई कात्तिक २४ गते पक्राउ गरिएकोमा उनले १० लाख ५६ हजार रुपैयाँ जरिवाना बुझाएर रिहा भएका थिए भने अर्को जालसाजी मुद्दामै गणेश प्रसाद कुर्मीलाई मंसिर ०८ गते पक्राउ १० लाख ५७ हजार रुपैयाँ जरिवाना असुलउपर गरिएको हो।
फरार प्रतिवादी पक्राउ अभियानमै बैंकिङ कसुर मुद्दामा कलैया नगरपालिका–२०, बाराका दिलिप कुमार सिंहलाई मंसिर ११ गते पक्राउ गर्दौ २० लाख रुपैयाँ जरिवाना असुलउपर गरिएको प्रवक्ता डीएसपी पातलीले जानकारी दिएका छन् । त्यस्तै बैंकिङ कसुर मुद्दामा १ महिना कैद र ६ लाख ५० हजार रुपैयाँ जरिवाना पाएका नेपालगंज–६ का नन्दराम तिवारी मंसिर १७ गते पक्राउ गरेर बाँके जिल्ला अदालत उपस्थित गराइएको उनले बताए।
बाँके प्रहरीले फरार प्रतिवादी पक्राउ अभियानलाई थप प्रभावकारी बनाउँदै लैजाने र अदालतको फैसला कार्यान्वयनलाई प्राथमिकतामा राखेर निरन्तर कारबाही जारी रहने जनाएको छ।