नेभिगेशन
नेपाल प्रहरी

बाँके प्रहरीको कारबाही: महिनाभरमा दर्ता १७१ मुद्दामा १० वटा जघन्य अपराधका,आत्महत्यातर्फ एघार

नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले मंसिर महिनामा अपराध अनुसन्धान, नियन्त्रण, शान्ति सुरक्षा तथा नागरिक सुरक्षाका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको छ। मंसिर महिनामा जिल्ला प्रहरी कार्यालय बाँके तथा मातहतका प्रहरी इकाइहरूबाट सम्पादन गरिएका कार्य तथा गतिविधिबारे जिल्ला प्रहरी कार्यालय बाँकेले सार्वजनिक गरेको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार मंसिर महिनामा कुल १७१ वटा मुद्दा दर्ता भएका छन्। दर्ता भएका मुद्दामध्ये जघन्य तथा अति गम्भीर प्रकृतिका १० वटा र अन्य गम्भीर अपराध ५६ वटा रहेका छन् भने ४६ वटा सामान्य अपराध दर्ता भएका छन्। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित ७ वटा मुद्दामा ८ जनालाई पक्राउ गरिएको छ। यस्तै आर्थिक अपराधतर्फ ४१ वटा घटना दर्ता भएका छन्।

चालु मुद्दामा १३९ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। सार्वजनिक चासोका १४ वटा पेन्डिङ मुद्दाको सफल अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी भने मंसिर महिनामा कुनै पनि मुद्दा दर्ता नभएको जनाइएको छ।

फैसला कार्यान्वयनतर्फ ४७ जनालाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार ती प्रतिवादीहरूबाट कुल ३४ वर्ष ८ महिना १६ दिन कैद सजाय कार्यान्वयन गरिएको छ भने ४० लाख ३५ हजार ३८८ रुपैयाँ बराबरको बिगो तथा क्षतिपूर्ति असुल गरिएको छ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकतर्फ मंसिर महिनामा ११६ वटा उजुरी दर्ता भएका छन्। तीमध्ये ७८ वटा उजुरी फछ्र्योट भएका छन् भने ३८ वटा उजुरी फछ्र्योट हुन बाँकी छन्। पीडित तथा पीडकको उमेर समूहका आधारमा गरिएको विश्लेषणअनुसार १८ देखि २५ वर्ष उमेर समूहका ३७ जना र २६ देखि ३९ वर्ष उमेर समूहका ७९ जना रहेका छन्।

हराएका तथा फेला परेका व्यक्तिहरूको विवरणअनुसार ४० जना महिला र ७ जना पुरुष हराएको उजुरी परेकोमा २३ जना महिला र ४ जना पुरुष फेला परेका छन्। हालसम्म १७ जना महिला र ३ जना पुरुष फेला नपरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

घरेलु हिंसातर्फ ५९ वटा उजुरी दर्ता भएका छन्, जसको प्रकृति झैँ–झगडा रहेको छ। तीमध्ये ३३ वटा उजुरी मिलापत्र गराई वा अदालत पठाइएको छ। स्थानीय तहको आधारमा छुट्टै तथ्याङ्क विश्लेषण भने नभएको प्रहरीले जनाएको छ।

ठाडो उजुरीतर्फ प्रत्यक्ष रूपमा प्रहरी कार्यालयमा ४१२ वटा उजुरी परेका छन्। तीमध्ये २२३ वटा उजुरी फछ्र्योट भएका छन्, ३ वटा उजुरी सम्बन्धित निकायमा पठाइएको छ भने १८६ वटा उजुरी फछ्र्योट हुन बाँकी छन्। जिल्ला प्रशासन कार्यालयमार्फत प्रहरी कार्यालयमा आएका ८ वटा उजुरीमध्ये २ वटा फछ्र्योट भएका छन् र ६ वटा बाँकी छन्।

लागुऔषध नियन्त्रणतर्फ मंसिर महिनामा ब्राउन सुगर १६६ ग्राम ४१० मिलिग्राम, ड्रामाडोल ११०० क्याप्सुल, नाइट्राजेपाम ३५ ट्याब्लेट र कोरेक्स ३०० मिलिलिटर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

आत्महत्या सम्बन्धी घटनातर्फ मंसिर महिनामा कुल ११ वटा घटना दर्ता भएका छन्। आत्महत्या गर्नेहरू मध्ये ९ जनाले झुन्डिएर र २ जनाले विष सेवन गरेर ज्यान लिएका छन्। लिङ्गका आधारमा ६ जना पुरुष र ५ जना महिला रहेका छन्। उमेर समूहका आधारमा २६ देखि ३५ वर्ष उमेर समूहका ८ जना पुरुष र ४६ देखि ६० वर्ष उमेर समूहका ३ जना महिला रहेका छन्।

मंसिर महिनामा घटेको प्रमुख अपराध घटनाको विवरण दिँदै जिल्ला प्रहरी कार्यालय बाँकेले मंसिर १० गते बिहान करिब ३ बजे बैजनाथ गाउँपालिका–२ पितमारी बस्ने १९ वर्षीय नारायण परियारले खजुरा गाउँपालिका–६ बस्ने करिब २२ वर्षीया देवी क्षेत्रीको बैजनाथ गाउँपालिका–१ सल्यानी टोलस्थित मिनी गाभर होमस्टेमा कर्तव्य गरी हत्या गरेको र शवलाई होमस्टेबाट करिब ७ सय मिटर उत्तरतर्फ देउराली हरियाली सामुदायिक वनको खोल्सामा लुकाइ राखेको अवस्थामा फेला परेको जनाएको छ। उक्त घटनामा संलग्न अभियुक्त नारायण परियारलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

अपराध न्यूनीकरणका लागि मंसिर महिनामा विद्यालय तथा समुदायस्तरमा ६५ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ, जसमा १४१४ जना महिला र १४०० जना पुरुष सहभागी भएका थिए। अनुचित लेनदेन नियन्त्रणतर्फ भने मंसिर महिनामा मिलापत्र वा फछ्र्योट भएका निवेदन नभएको प्रहरीले जानकारी दिएको छ।

शान्ति सुरक्षा तथा प्रहरी कार्यतर्फ मंसिर महिनामा ९२८ पटक पिकेट, २३७८ पटक ग्रामीण गस्ती (SRP), ३७७ पटक चेकिङ र २ पटक ग्रामीण गस्ती (LRP) परिचालन गरिएको छ। बन्द, चक्काजाम, आन्दोलन, मेला, पर्व तथा जात्राजस्ता विशेष परिस्थितिमा भने कुनै उल्लेखनीय प्रहरी परिचालन नभएको जनाइएको छ। प्रहरी परिचालनका क्रममा मानवीय वा भौतिक क्षति, घाइते वा मृतक, अश्रुग्यास प्रहार तथा प्रहरीका सामग्री वा सवारी साधनमा क्षति नभएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

सवारी दुर्घटनातर्फ मंसिर महिनामा १०१ वटा दुर्घटना भएका छन्। ती दुर्घटनामा १५५ वटा सवारी साधन संलग्न रहेका छन् भने ४ जनाको मृत्यु र १४२ जना घाइते भएका छन्। दुर्घटनाको कारण विश्लेषण गर्दा तीव्र गति, चालकको लापरबाही, यान्त्रिक कारण र मादक पदार्थ सेवन प्रमुख कारण देखिएका छन्। चेकिङका क्रममा २३०७ वटा सवारी साधन कारबाहीमा परेका छन्, जसबाट १९ लाख १२ हजार ५०० रुपैयाँ राजस्व संकलन गरिएको छ।

अवैध हातहतियार तथा गोलीगठ्ठा नियन्त्रणतर्फ मंसिर ८ गते राति करिब ११ः३० बजे नेपालगन्ज उपमहानगरपालिका–२ न्युरोडस्थित फुटसल नजिकको खाली मैदानमा बेवारिसे अवस्थामा रहेको ७.६५ एमएमको एक थान पेस्तोल, दुई थान गोली र एक थान म्यागजिन बरामद गरिएको छ।

राजस्व चुहावट तथा भन्सार छली नियन्त्रणतर्फ मंसिर महिनामा करिब ४३ लाख ९८ हजार ८२५ रुपैयाँ बराबरका अवैध सामान बरामद गरिएको छ। सो क्रममा ८ जना व्यक्ति र १ वटा सवारी साधन नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

विपद् व्यवस्थापनतर्फ ४ वटा विपद् घटनामा ५२ जना प्रहरी परिचालन गरिएको छ। ती घटनाबाट करिब २० लाख ३० हजार रुपैयाँ बराबरको क्षति भएको छ। अवैध मदिरा नियन्त्रणतर्फ भने मंसिर महिनामा कुनै बरामद वा कारबाही नभएको जनाइएको छ।

प्राकृतिक सम्पदा दोहन नियन्त्रणतर्फ (अवैध उत्खनन्)  २९ वटा सवारी साधन नियन्त्रणमा लिइएको छ भने १ लाख ७७ हजार रुपैयाँ जरिवाना असुल गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

हाल जिल्ला प्रहरी कार्यालय बाँकेको कमाण्ड प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीले सम्हाल्दै आएका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार आगामी दिनमा पनि अपराध नियन्त्रण, शान्ति सुरक्षा र नागरिक सुरक्षालाई प्राथमिकतामा राखेर प्रभावकारी रूपमा काम जारी रहनेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्