नेभिगेशन
नेपाल प्रहरी

लागुऔषधसहित १७ जना नेपाल प्रहरीको नियन्त्रणमा

काठमाडौं । प्रहरीले धनुषा, सुनसरी, झापा, सिराहा, दाङ, उदयपुर र नवलपरासी पश्चिमका विभिन्न स्थानबाट ब्राउनसुगर, खैरो हेरोइन तथा नियन्त्रित लागूऔषधसहित १७ जनालाई पक्राउ गरेको छ ।

धनुषाको विदेह नगरपालिका–१ बाट करिब २ सय ६० मिलिग्राम ब्राउनसुगरसहित सबैला नगरपालिका–२ बस्ने १९ वर्षीय राहुल ठाकुर पक्राउ परेका छन् । प्रहरी चौकी ठाडीझिझाबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

त्यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका–७ सोमबारेबाट ट्रामाडोल १ सय ९७ ट्याब्लेट र स्पास्पेन १ सय ९७ ट्याब्लेटसहित सोही ठाउँ बस्ने २१ वर्षीय प्रदिप थापा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार झापाको बुद्धशान्ति गाउँपालिका–३ डाँडागाउँबाट ८ सय मिलिग्राम ब्राउनसुगरसहित २७ वर्षीय बबिन राई पक्राउ परेका छन् । साथै दमक नगरपालिका–३ स्थित भुटानी शरणार्थी शिविरबाट ३ सय ३० मिलिग्राम खैरो हेरोइनसहित २६ वर्षीय आशिष राई, ३८ वर्षीय कुसल प्रधान र ३७ वर्षीय पूर्ण बहादुर राई पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले आशिषको घर तलासीका क्रममा लागूऔषध फेला पारी उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

त्यसैगरी भद्रपुर नगरपालिका–४ डाँगीबारीबाट २ ग्राम ब्राउनसुगरसहित बिर्तामोड नगरपालिका–९ बस्ने २४ वर्षीय राजु राजबंशी र २३ वर्षीय पारश गौरेपिप्ले पक्राउ परेका छन् । भद्रपुर नगरपालिका–५ मेचीपुलबाट भने २१ ग्राम ९० मिलिग्राम ब्राउनसुगरसहित २३ वर्षीय राजेन राजबंशी पक्राउ परेका छन् । उनी भारतबाट नेपालतर्फ साइकलमा आउँदै गर्दा पक्राउ परेका हुन् ।

सिराहाको लहान नगरपालिका–२३ गढिया चोकबाट १६ ग्राम ५ सय मिलिग्राम खैरो हेरोइनसहित ३६ वर्षीय विजयकुमार साह र ३१ वर्षीय सुरेन्द्रकुमार दास पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजारसमेतबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

दाङको राप्ती गाउँपालिका–४ गोपिनालाबाट ३ सय ४० मिलिग्राम खैरो हेरोइनसहित २५ वर्षीय भुपाल थापा पक्राउ परेका छन् । उनी रा.५ प ५६९१ नम्बरको मोटरसाइकलमा सवार अवस्थामा पक्राउ परेका हुन् ।
सुनसरीको इटहरी उपमहानगरपालिका–५ बाट ७ सय मिलिग्राम ब्राउनसुगरसहित २८ वर्षीय सन्तोष दमाई पक्राउ परेका छन् ।

सिराहाकै धनगढीमाई नगरपालिका–८ कसहाबाट ६ ग्राम ५ सय मिलिग्राम खैरो हेरोइनसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङ घर भएका २९ वर्षीय देवराज वली र सिन्धुली घर भएका ३४ वर्षीय सुशिल अधिकारी रहेका छन् । ज.१ ह ३९३० नम्बरको अटो जाँचका क्रममा लागूऔषध फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार उदयपुरको वेलका नगरपालिका–९ रामपुर बजारबाट करिब १ सय मिलिग्राम ब्राउनसुगरसहित त्रियुगा नगरपालिका–७ बस्ने २२ वर्षीय रेमन मग्राती पक्राउ परेका छन् । उनी विराटनगरबाट कटारीतर्फ जाँदै गरेको बसका सहचालक हुन् ।

यसैगरी नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–४ टिसिएन चोकबाट डाईजेपाम २८ एम्पुल, प्रोमेथाजाइन २८ एम्पुल र बुप्रेनोर्फिन २८ एम्पुलसहित कास्की पोखरा महानगरपालिका–१४ बस्ने ३५ वर्षीय खगेन्द्र बहादुर मिदुन पक्राउ परेका छन् ।

पक्राउ परेका उनीहरुविरुद्ध सम्बन्धित प्रहरी कार्यालयले थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्