नेभिगेशन
नेपाल प्रहरी

देशभरमा १६ सय ९६ फरार प्रतिवादी पक्राउ, ६४१ वर्षभन्दा बढी कैद र १२ करोड बढी जरिवाना असुलउपर

काठमाडौं । फरार प्रतिवादी पक्राउ अभियान (फैसला कार्यान्वयन) अन्तर्गत चालु आर्थिक वर्ष २०८२-०८३ को मंसिर महिनामा देशभर ठूलो संख्यामा फरार प्रतिवादी पक्राउ परेका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार देशभर सञ्चालन गरिएको उक्त अभियानमा सबैभन्दा बढी फरार प्रतिवादी सुदूरपश्चिम प्रदेशबाट ४८६ जना पक्राउ परेका छन् ।सबैभन्दा बढी जरिवाना असुलउपर गर्ने प्रदेशमा बागमती रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

अभियानका क्रममा देशभरबाट कुल १६ सय ९६ जना फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ परेका प्रतिवादीहरूबाट अदालतले तोकेको ६४१ वर्ष ६ महिना २४ दिन कैद सजाय कार्यान्वयन गरिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी, फैसला कार्यान्वयनकै क्रममा १२ करोड ३७ लाख ३६ हजार ५४४ रुपैयाँ जरिवाना असुलउपर गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार अदालतका फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले देशभर विशेष अभियान सञ्चालन गरिएको हो । फरार प्रतिवादी खोजतलास, पक्राउ तथा कैद र जरिवाना असुलउपर कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्