पछिल्लो समय सुरक्षाकर्मीविरुद्ध अनावश्यक रूपमा बदनाम गर्ने उद्देश्यले समाचार लेख्ने र लेखाउने प्रवृत्ति बढ्दै गएको देखिएको छ । आफ्नो स्वार्थ पूरा नभएपछि केही गिरोहले पत्रकारितालाई दुरुपयोग गर्दै षड्यन्त्रपूर्वक सुरक्षाफौजका तल्लो तहदेखि वरिष्ठ अधिकृतसम्मलाई लक्षित गरी समाचार प्रकाशन गराउने प्रवृत्ति गरेको पाइएको छ ।
यस्ता घटना नयाँ होइनन् । सुरक्षाकर्मीबाट गल्ती नहुने भन्ने हुँदैन । गल्ती भए त्यसलाई तथ्य र प्रमाणका आधारमा सार्वजनिक गर्नु जिम्मेवार पत्रकारिताको धर्म हो । तर भए नभएका विषयलाई अतिरञ्जित गर्दै, हावा र हचुवाका भरमा समाचार लेखेर सुरक्षाकर्मीको छवि ध्वस्त पार्ने प्रयास चिन्ताजनक बन्दै गएको छ ।
विशेष गरी तराईका जिल्लामा सुरक्षाकर्मीले अनावश्यक कुरा नमान्दा प्रतिशोधका रूपमा समाचार लेखाउने क्रम बढेको देखिन्छ । गल्ती भए एकपटक निष्पक्ष रूपमा समाचार लेखिनु स्वाभाविक हो । तर अहिले एउटै विषयलाई ‘भाग–१’, ‘भाग–२’ गर्दै पटक–पटक लेखेर जनमत भड्काउने र अन्ततः सम्बन्धित सुरक्षाकर्मीलाई कारबाहीको भागीदार बनाउने प्रवृत्ति मौलाउँदै गएको छ, जुन निश्चय नै गलत हो ।
राज्यले दिएको जिम्मेवारी कर्तव्यनिष्ठ रूपमा पूरा गर्दै आएका सुरक्षाकर्मीका सामान्य कमजोरीलाई अतिरञ्जित गरेर प्रस्तुत गर्नुले उनीहरूको मनोबल खस्काउने मात्र होइन, समग्र सुरक्षा संयन्त्रप्रति नै अविश्वास सिर्जना गर्ने खतरा बढाउँछ । स्वार्थ पूरा नभएपछि बदनाम गराउने उद्देश्यले समाचार प्रयोग गर्नु कत्तिको उचित हो भन्ने प्रश्न अहिले विभिन्न तह र तप्काबाट उठ्न थालेको छ ।
इमानदारीपूर्वक राष्ट्रसेवामा समर्पित सुरक्षाकर्मीको बदनाम गर्नु ठूलो अन्याय भएको जानकारहरूको भनाइ छ । गलत समाचारका कारण मानसिक, सामाजिक र व्यावसायिक रूपमा पीडित भएका कयौं सुरक्षाकर्मीका उदाहरणहरू छन् ।
यसको अर्थ गलत गर्ने सुरक्षाकर्मीलाई जोगाउनुपर्छ भन्ने होइन । गल्ती गर्ने जो–कोही भए पनि उसको गलत कार्यलाई तथ्यसहित सार्वजनिक गर्नु अत्यावश्यक छ । तर प्रमाणविहीन, पूर्वाग्रही र स्वार्थप्रेरित समाचारले इमानदार राष्ट्रसेवकलाई निशाना बनाउनु न त पत्रकारिताको मूल्य हो, न त लोकतन्त्रको हितमा ।
अतः सुरक्षाकर्मीविरुद्ध समाचार लेख्दा सत्य, सन्तुलन र जिम्मेवारीलाई केन्द्रमा राख्नु आजको आवश्यकता हो। आफ्नो स्वार्थका लागि इमानदार सुरक्षाकर्मीको बदनाम गराउने प्रवृत्तिमाथि गम्भीर बहस र आत्मसमीक्षा जरुरी देखिन्छ ।