नेभिगेशन
नेपाल प्रहरी

'बाँके प्रहरीले केही गरेन भन्नेहरू, हेर्नुस्—चैतमा कस्ता काम गर्यो प्रहरीले?'

नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले चैत महिनामा सम्पादित विभिन्न कार्य तथा गतिविधिको प्रगति विवरण सार्वजनिक गरेको छ। बाँके प्रहरीका कमाण्डर एसपी अंगुर जिसीको सर्हानीय कार्य र उत्कृष्ट समन्वयमा बाँके प्रहरीले मृत्यु प्रकरण घटनामा फरार रहेका दुई अभियुक्तलाई भारतको राजधानी नयाँ दिल्लीबाट पक्राउ गरेर ल्याउन सफल भएको छ।

बाँके प्रहरीको विगत ६ महिनादेखि कमाण्ड सम्हाल्दै आएका एसपी जिसीको काम र कारबाहीलाई राम्रोसँग नबुझी आलोचना गर्नेहरूका लागि पछिल्लो प्रगति विवरण आफैंमा स्पष्ट जवाफ बनेको छ। विभिन्न अपराध नियन्त्रण, अनुसन्धान, राजस्व संकलन, लागुऔषध नियन्त्रणदेखि समुदायमा सचेतनामूलक कार्यक्रमसम्म प्रहरीले गरेको सक्रियता हेर्दा, यसअघि आलोचना गर्नेहरू पनि अब बाध्य भएर प्रहरीको कामको सराहना र प्रशंसा गर्नुपर्ने अवस्था सिर्जना भएको देखिन्छ।

बाँके प्रहरीले दिएको जानकारी अनुसार उक्त अवधि (२०८२ चैत)मा अपराध नियन्त्रण, अनुसन्धान, शान्ति सुरक्षा र समुदायस्तरका कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गरिएको  छ। प्रहरीको कार्य अन्तर्गत  चैत महिनामा कुल २०१ वटा मुद्दा दर्ता भएका छन्। जसमध्ये जघन्य तथा गम्भीर अपराध ६० वटा, सामान्य अपराध १३२ वटा र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित १२ वटा मुद्दामा १४ जना पक्राउ परेका छन्। आर्थिक अपराधका ५६ वटा घटना दर्ता भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार चालु मुद्दामा १७१ प्रतिवादी पक्राउ परेका छन् भने सार्वजनिक चासोका ३२ वटा पेण्डिङ मुद्दाको सफल अनुसन्धान गरिएको छ। सम्पत्ति शुद्धीकरण सम्बन्धी कुनै मुद्दा दर्ता नभएको जनाइएको छ। फैसला कार्यान्वयनतर्फ ६२ जना पक्राउ परेका छन्। पक्राउ परेकाबाट १९ वर्ष १ महिना २४ दिन कैद असुल भएको र २८ लाख ८९ हजार २८० रुपैयाँ बिगो तथा क्षतिपूर्ति असुल गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सम्बन्धी १०३ वटा उजुरी परेकोमा ८२ वटा फर्छ्यौट  गरिएको र २१ वटा बाँकी रहेको प्रहरीले जानकारी दिएको छ। उमेर समूह विश्लेषण अनुसार १८–२५ वर्षका २५ जना र २६–३९ वर्षका ५२ जना पीडित तथा पीडक रहेका छन्। हराएका तथा फेला परेका व्यक्तिहरूको विवरण अनुसार २५ महिला, १९ बालिका, ४ बालक, १ ज्येष्ठ नागरिक पुरुष र ४ पुरुष हराएका छन्। तीमध्ये ११ महिला, १३ बालिका, ३ बालक, १ ज्येष्ठ नागरिक पुरुष र १ पुरुष फेला परेका छन् भने १४ महिला, ६ बालिका, १ बालक र ३ पुरुष अझै फेला नपरेको प्रहरीले जनाएको छ।

घरेलु हिंसासम्बन्धी ६८ वटा उजुरी परेकोमा ५२ वटा मिलापत्र वा अदालत पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। त्यस्तै, प्रत्यक्ष रूपमा कार्यालयमा ५२३ वटा उजुरी परेकोमा ३२६ वटा फर्छ्यौट  गरिएको, ५ वटा सम्बन्धित निकायमा पठाइएको र १९१ वटा बाँकी रहेको प्रहरीले  जानकारी दिएको छ।

लागुऔषध नियन्त्रणतर्फ २२ वटा मुद्दा दर्ता गरी ४३ जनालाई पक्राउ गरिएको छ। प्रहरीले १९३ ग्राम ८४० मिलिग्राम ब्राउनसुगर, ४ किलो ७१० मिलिग्राम गाँजा, ५१२ क्याप्सुल ट्रामाडोल र १८८ ट्याब्लेट नाइट्राजेपाम बरामद गरेको  जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

आत्महत्या सम्बन्धी ११ वटा घटना दर्ता भएकोमा १० जनाले झुण्डिएर र १ जनाले विष सेवन गरेर आत्महत्या गरेको प्रहरीले जनाएको छ। तीमध्ये ७ पुरुष र ४ महिला रहेका छन् भने २६–३५ वर्ष समूहका ९ जना र ४६–६० वर्ष समूहका २ जना रहेका छन्।

चैत महिनाको मुख्य घटनामा नेपालगन्ज–१२ कोरियनपुरमा २२ वर्षीया सिर्जना बुढा मगरको जलेर मृत्यु भएको घटनालाई प्रहरीले प्रमुख रूपमा उल्लेख गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको अनुसार उक्त घटनामा संलग्न शंकामा मो. आरिफ ढपालीसहित उनका परिवारका सदस्यहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ भने फरार रहेका उनका बुवा र भाइलाई नयाँ दिल्लीबाट भारतीय प्रहरीको सहयोगमा  पक्राउ गरिएको प्रहरीले जनाएको छ।

अपराध न्यूनीकरणका लागि १२ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको र १६७४ पुरुष तथा १०४४ महिला लाभान्वित भएको प्रहरीले जनाएको छ। शान्ति सुरक्षा तर्फ चैत महिनामा ९८५ पटक पिकेट, ४४५७ ग्रामीण गस्ती, ७२५ चेकिङ र १५ एलआरपी गस्ती सञ्चालन गरिएको छ। विशेष परिस्थितिमा ५ वटा घटनामा १२९ जना प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

सवारी दुर्घटनातर्फ ३६ वटा दुर्घटनामा ७ जनाको मृत्यु र ४४ जना घाइते भएका छन्। ती दुर्घटनामा ५४ सवारी साधन संलग्न रहेको र तीव्र गति मुख्य कारण रहेको प्रहरीले जनाएको छ। चेकिङका क्रममा १७८१ कारबाही गरी १५ लाख ५७ हजार रुपैयाँ राजस्व संकलन गरिएको छ।

अवैध हातहतियारतर्फ १ थान कटुवा पेस्तोलसहित ४ जना पक्राउ गरिएको छ। भन्सार छली नियन्त्रणतर्फ ३१ लाख २७ हजार २७९ रुपैयाँ बराबरका सामानसहित ३ जना र ९ सवारी साधन नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

विपद् व्यवस्थापन अन्तर्गत १९ घटनामा ७२ जना प्रहरी परिचालन गरिएको र १८ लाख ४६ हजार ५०० रुपैयाँ बराबरको क्षति भएको जनाएको छ।

प्राकृतिक स्रोत दोहन नियन्त्रणतर्फ २१ सवारी साधन नियन्त्रणमा लिई १ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको छ। अवैध पशुपंक्षी नियन्त्रणमा ४६८ किलो बोइलर कुखुरा बरामद गरी १ लाख ९१ हजार ६५० रुपैयाँ राजस्व संकलन गरिएको प्रहरीले जनाएको छ। त्यसैगरी अवैध वन पैदावार अन्तर्गत ९.३२ क्युफिट सालको काठ बरामद गरी ४३ हजार ६४० रुपैयाँ राजस्व संकलन गरिएको छ।

समुदाय तथा विद्यालय केन्द्रित ९४ वटा कार्यक्रम सञ्चालन गरिएकोमा १६७४ पुरुष र १०४४ महिला सहभागी भएका छन्। विद्यालयस्तरमा १२ कार्यक्रममा ३६२ बालक र ३७० बालिका सहभागी भएका छन्। नागरिकता तथा अन्य कागजातका लागि १६८ नागरिकता र ३१ अन्य मुचुल्का तयार गरिएको छ। हटलाइनमा १,६४६ कल प्राप्त भएको र नागरिक सहायता कक्षमा ३०५ सेवाग्राही दर्ता भएका छन्।

अन्य गतिविधितर्फ प्रहरी कर्मचारीको मनोबल वृद्धिका लागि मेडिटेसन कार्यक्रम सञ्चालन गरिएको छ। ३० वर्ष सेवा पूरा गरेका प्रहरीलाई सम्मानसहित विदाइ गर्ने कार्य सुरु गरिएको प्रहरीले जनाएको छ।

सार्वजनिक सुनुवाइ कार्यक्रम २ वटा आयोजना गरिएकोमा ७० जनाको सहभागिता रहेको थियो। कार्यक्रममा लागू औषध दुर्व्यसन नियन्त्रणका लागि समुदाय–प्रहरी सहकार्य आवश्यक रहेको विषय उठाइएको थियो। साथै सीमान्तकृत तथा पिछडिएका वर्ग लक्षित २ वटा कार्यक्रम सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्