नेभिगेशन
नेपाल प्रहरी

सीमाक्षेत्रमा गाँजा तस्करलाई पक्राउ गर्न हवाई फायर, ३३० किलो गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं । नेपाल–भारत सीमा नजिक प्रहरीले गाँजा तस्करलाई पक्राउ  गर्ने क्रममा बाध्य भएर हवाई फायर गरी दुई जना भारतीय तस्करलाई पक्राउ गरेको छ। प्रहरीले घटनास्थलबाट करिब ३३० किलो गाँजा बरामद गरेको छ।

शनिबार राति करिब १०ः३० बजे मोरङको जहदा गाउँपालिका–२ तारिगामा गाँजा ओसारपसार भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट इन्स्पेक्टर सरोज खनालको नेतृत्वमा प्रहरी टोली खटिएको थियो। टोली घटनास्थलमा पुग्दा केही तस्करहरुले टाउकोमा गाँजाको बोरा बोकेर भारततर्फ लैजाँदै गरेको देखिएको प्रहरी स्रोतले जनाएको छ।

प्रहरीलाई देखेपछि उनीहरू बोरा फालेर फरार हुन खोजेपछि नियन्त्रणका लागि प्रहरीले एक राउन्ड हवाई फायर गरेको थियो। त्यसपछि प्रहरीले भारतको अररिया चन्दामोहन घर भएका २४ वर्षीय अबुल हसन र ३० वर्षीय सोहेल खानलाई पक्राउ गर्न सफल भएको मोरङ प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनाको साथबाट प्रहरीले  ३३० किलो गाँजा बरामद गरेको  छ भने उनीहरूलाई बरामद गाँजासहित जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको प्रहरीले जानकारी दिएको छ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार पक्राउ परेकामाथि लागुऔषध ऐनअन्तर्गत मुद्दा दायर गर्ने तयारी भइरहेको छ। सुरक्षा निकायका अनुसार पूर्वी पहाडी जिल्लामा उत्पादन हुने गाँजा विभिन्न नाका प्रयोग गरी सुरक्षाकर्मीलाई छल्दै भारत पुर्‍याउने प्रयास बारम्बार हुँदै आएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्