नेभिगेशन
नेपाल प्रहरी

बाँके प्रहरीमा दर्ता भएका ३२३ मुद्दामा ४ सय ७६ जना पक्राउ

नेपालगञ्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले चालु आर्थिक वर्षको असोजदेखि मंसिरसम्मको अवधिमा  विभिन्न प्रकृतिका ३२३ वटा मुद्दा दर्ता गर्दै ४ सय ७६ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार त्यस अवधिमा अवैध भन्सार छलिका सामानविरुद्ध गरिएको कारबाहीमा  १ करोड ८ लाख ८४ हजार ९६८  रुपैयाँ बराबरको सामान  बरामद गरिएको छ। उक्त कारबाहीमा २९ जना व्यक्ति, एउटा  जिप, १६ वटा मोटरसाइकल र २ वटा ई–रिक्सा नियन्त्रणमा लिई सम्बन्धित निकायमा पठाइएको प्रहरीले जनाएको छ।

त्यसैगरी ट्राफिक नियम उल्लङ्घन गर्ने ४ हजार ७ सय ४० वटा सवारी साधनलाई कारबाही गर्दा  ४० लाख ४० हजार राजस्व संकलन भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

बाँके प्रहरीका अनुसार अवैध पशुपंक्षी ओसारपसार नियन्त्रणबाट १ लाख ६ हजार ७ सय २५  रुपैयाँ र अवैध नदिजन्य पदार्थ नियन्त्रणबाट १ लाख ७० हजार बराबरको राजस्व संकलन गरिएको छ।

ठाडो उजुरीतर्फ ४०९ वटा निवेदन दर्ता भएकोमा १४१ वटा मिलापत्रमार्फत समाधान गरिएको र बाँकी २६८ वटा प्रक्रियामा रहेको जनाइएको छ। फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत १२१ जनालाई पक्राउ गरी ६३ वर्ष ६ महिना ७ दिन कैद र ९६ लाख ७५ हजार ७४ रुपैयाँ जरिवाना असुल उपर गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

लागुऔषध ओसारपसारविरुद्ध योजनाबद्ध रूपमा गरिएको कारबाहीमा ३५१ ग्राम ४३० मिलिग्राम ब्राउन सुगर, १२९ ट्याबलेट नाइट्राभेट र २२० ट्याबलेट ट्रामाडोलसहित ५७ जना ओसारपसारकर्तालाई कानुनी दायरामा ल्याइएको प्रहरीले जनाएको छ।

यस अवधिमा हराएका ६ वटा मोटरसाइकल र ४५ थान आइफोन तथा एन्ड्रोइड मोबाइल फोन फेला पारेर सम्बन्धित धनीलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार आगामी दिनमा पनि शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा नागरिक सेवामा अझ प्रभावकारी रूपमा काम गरिनेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्