नेभिगेशन
नेपाल प्रहरी

लागुऔषधसहित २८ जना नेपाल प्रहरीको नियन्त्रणमा

काठमाडौं । नेपाल प्रहरीले देशका विभिन्न स्थानबाट विभिन्न किसिमका लागूऔषधसहित २८ जनालाई पक्राउ गरेको छ।

काठमाडौंको टोखा नगरपालिका–९ गोंगबुस्थित दिप सागर होटलबाट ६ ग्राम ४ सय ४० मिलिग्राम खैरो हेरोइनसहित काठमाडौं चाबहिल बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका–११ घर भएका २६ वर्षीय महेन्द्र तामाङ र टोखा नगरपालिका–९ दिपज्योती बस्ने बागलुङ ढोरपाटन नगरपालिका घर भएकी २२ वर्षीया निरूता अदेही मगर पक्राउ परेका छन्। प्रहरी प्रभाग गोंगबुबाट खटिएको टोलीले होटलको ५१५ नम्बरको कोठा तलासी गर्दा लागूऔषध बरामद गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

झापाको दमक नगरपालिका–८ स्थित कञ्चनजंगा होटलबाट ६ ग्राम ७ सय ८० मिलिग्राम खैरो हेरोइन र ३३ हजार रुपैयाँ नगदसहित दमक नगरपालिका–१ बस्ने २६ वर्षीय सुरज कुमाल, ३१ वर्षीय कृष्ण बहादुर श्रेष्ठ र मोरङ मिक्लाजुङ गाउँपालिका–३ बस्ने १९ वर्षीया मनिका राई पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले होटल तलासीका क्रममा उक्त लागूऔषध फेला पारेको हो।

प्रधान कार्यालयका अनुसार दाङको घोराही उपमहानगरपालिका–१३ बाट १० किलो ३ सय ९३ ग्राम चरेस र जंगली जनावरको सिङ्ग २ थानसहित रूकुम पूर्व घर भई घोराही–१३ बनगाउँ बस्ने ३४ वर्षीया दिनमाया पुन, ३९ वर्षीय दिपक पुन, रूकुम पूर्व घर भएकी २९ वर्षीया रूपा बुढामगर र रूकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका–१ घर भएका ३० वर्षीय हासी पुनमगर पक्राउ परेका छन्।

सुनसरीको बराहक्षेत्र नगरपालिका–४ तिसबिघेबाट ६ सय २० ट्याब्लेट ट्रामाडोल र ५ सय ७० ट्याब्लेट स्पास्पेनसहित रामधुनी नगरपालिका–६ बस्ने ३३ वर्षीय सुनिल चौधरी, २५ वर्षीय सुजन राई र बराहक्षेत्र नगरपालिका–४ बस्ने २५ वर्षीय राजु लिम्बु पक्राउ परेको प्रहरीले जनाएको छ।

त्यसैगरी मोरङको विराटनगर महानगरपालिका–१५ स्थित २ नम्बर ढाटबाट ५ ग्राम २ सय १० मिलिग्राम खैरो हेरोइनसहित सुनसरी धरान उपमहानगरपालिका–५ बस्ने २४ वर्षीय किसन घतानी र ३० वर्षीय दर्लामी मगर पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरसमेतबाट खटिएको टोलीले अटो रिक्सा तलासी गर्दा लागूऔषध बरामद गरेको जनाइएको छ।

रूपन्देहीको मायादेवी गाउँपालिका–३ बाट २८ ग्राम २ सय ९० मिलिग्राम ब्राउन सुगरसहित मायादेवी–३ बस्ने २४ वर्षीय दिपेन्द्र चाई र लुम्बिनी सांस्कृतिक नगरपालिका–३ बस्ने २३ वर्षीय समिम खान पक्राउ परेका छन्। सिराहाको गोलबजार नगरपालिका–२ बाट ३ ग्राम ८ सय मिलिग्राम खैरो हेरोइनसहित गोलबजार नगरपालिका–५ सिडिओ टोल बस्ने २२ वर्षीय अभिषेक यादव, धनगढीमाई नगरपालिका–८ चियावारी बस्ने २४ वर्षीय नवराज शर्मा र सिन्धुली कमलामाई नगरपालिका–९ बस्ने ३९ वर्षीय प्रभात देवकोटा पक्राउ परेका छन्।

कैलालीको धनगढी उपमहानगरपालिका–१० सिमलघाटबाट ४ सय ३० मिलिग्राम ब्राउन सुगरसहित धनगढी उपमहानगरपालिका–१३ बस्ने २५ वर्षीय राज कुमार राना पक्राउ परेका छन्। त्यस्तै धनगढी उपमहानगरपालिका–१ पशुपती टोलबाट १ सय ८० मिलिग्राम ब्राउन सुगरसहित गौरीगंगा नगरपालिका–४ राजिपुर बस्ने २२ वर्षीय बिबेक बराल र कञ्चनपुर कृष्णपुर नगरपालिका–६ बस्ने १९ वर्षीय नबिन सुनार पक्राउ परेका छन्।

यसैगरी कैलालीको भजनी नगरपालिका–३ कुसमघाटबाट १ सय २० मिलिग्राम ब्राउन सुगरसहित लम्किचुहा नगरपालिका–३ चिसापानी बस्ने २४ वर्षीय श्याम बम र टिकापुर नगरपालिका–२ नयाँबस्ती बस्ने २४ वर्षीय निखिल शाह पक्राउ परेका छन् भने धनगढी उपमहानगरपालिका–३ चौराहाबाट १ ग्राम १ सय ३० मिलिग्राम ब्राउन सुगरसहित सोही स्थान बस्ने २७ वर्षीय किसनलाल गुप्ता पक्राउ परेका छन्।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्