नेभिगेशन
नेपाल प्रहरी

नेपालगन्जबाट लागुऔषध डिलरसहित दुई जना २८ ग्रामबढी खैरो हेरोइनसहित पक्राउ

नेपालगन्ज  जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्यूरोले  नेपालगन्जबाट ठूलो परिमाणको खैरो हेरोइनसहित दुई  जना कारोबारीलाई पक्राउ गरेको छ।

खैरो हेरोइनसहित पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका –१ का ४६ वर्षीय विशाल दुलाल र नेपालगन्ज उपमहानगरपालिका –१८ का ३७ वर्षीय युवराज रश्मी रहेको बाँके  प्रहरीले जानकारी दिएको छ।

माघ ६ गते राति नेपालगन्ज उपमहानगरपालिका–१ धम्बोझीमा  खैरो हेरोईन बिक्री–वितरण भइरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र  लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जबाट खटिएको टोलीले उनीहरूलाई    धम्बोझी चोक नजिकबाट २८ ग्राम १२० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको बाँके प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार खानतलासी गर्दा दुलालको पाइन्टको दाहिने खल्तीभित्र लुकाइ राखिएको अवस्थामा २८ ग्राम १२० मिलिग्राम  खैरो हेरोइन बरामद गरिएको हो ।साथै घटनास्थलबाट डिजिटल तराजु एक थान र दुई थान मोबाइल समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाएपछि उनीहरुविरुद्ध  लागुऔषध मुद्दामा थप अनुसन्धान अगाडि बढाइएको जनाइएको छ।

लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार पक्राउ परेका  दुईमध्ये एक जना बाँके जिल्लाकै ठूलो लागुऔषध कारोबारी (डिलर) मध्येकै एक रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्