नेभिगेशन
नेपाल प्रहरी

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १६ जना नेपाल प्रहरीको नियन्त्रणमा

काठमाडौं । काठमाडौं, कैलाली, झापा, ललितपुर, सर्लाही र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले ब्राउन सुगर, खैरो हेरोइन, गाँजा तथा नियन्त्रित लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको छ।

काठमाडौंको टोखा नगरपालिका–७ बसुन्धारा खरिबोटबाट ब्राउन सुगर ७ ग्राम १८० मिलिग्रामसहित इलाम नगरपालिका–४ घर भई टोखा नगरपालिका–६ बस्ने ३७ वर्षीय दिपक राई पक्राउ परेका छन्। प्रहरी प्रभाग गोँगबुबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

कैलालीको लम्कीचुहा नगरपालिका–१ भुरूवाबाट खैरो हेरोइन ३१० मिलिग्रामसहित २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा २४ वर्षीय भरत सन्ज्याल र २७ वर्षीय मदन आचार्य रहेका छन्। इलाका प्रहरी कार्यालय लम्कीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

त्यसैगरी कैलालीको टिकापुर नगरपालिका–८ बटनपुरबाट खैरो हेरोइन ८०० मिलिग्राम र चरेस २९० मिलिग्रामसहित ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा २३ वर्षीय राहुल लुहार, २३ वर्षीय समिर चौधरी र २० वर्षीय अनिश थारू रहेका छन्। उनीहरूलाई प्रहरी चौकी कालाकुण्डाबाट खटिएको टोलीले पक्राउ गरेको हो।

कैलालीकै घोडाघोडी नगरपालिका–१ सुखड बजारबाट खैरो हेरोइन ३३० मिलिग्रामसहित २६ वर्षीय दिपक धामी पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलबाट खैरो हेरोइन १ ग्रामसहित बुद्धशान्ति गाउँपालिका–४ का १८ वर्षीय किशोर पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

ललितपुरको गोदावरी नगरपालिका–५ लेले बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८२ ट्याब्लेट र स्पास्पेन १० ट्याब्लेटसहित रामेछाप मन्थली घर भई महालक्ष्मी नगरपालिका–१२ धापाखेल बस्ने २२ वर्षीय पाल्देन लामा सहित ३ जना पक्राउ परेका छन्। उनीहरू बा.९७ प ५८६७ नम्बरको स्कुटरमा सवार थिए।

सर्लाहीको मलंगवा नगरपालिका–४ गणेशिया चोकबाट गाँजा ७ किलो ८०० ग्रामसहित २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा १९ वर्षीय नितेश मण्डल र ३२ वर्षीय शेष मोफिज रहेका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले मोटरसाइकलमा सवार उनीहरूलाई नियन्त्रणमा लिएको हो।

कञ्चनपुरको बेलौरी नगरपालिका–१० दर्सिखल्लाबाट खैरो हेरोइन २ ग्राम २५० मिलिग्रामसहित भारत पिलिभित टाटरगंजका २२ वर्षीय मंगु सिंह पक्राउ परेका छन्। उनी भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकलमा सवार थिए।

यसैगरी कञ्चनपुरकै भीमदत्त नगरपालिका–११ बरेलीटोलबाट खैरो हेरोइन १३० मिलिग्रामसहित २५ वर्षीय दिपक थापा पक्राउ परेका छन्।

पक्राउ परेका सबै घटनाका सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्