नेभिगेशन
नेपाल प्रहरी

बर्दिया र दाङबाट अवैध लागुऔषध ब्राउन सुगरसहित ५ जना प्रहरीको नियन्त्रणमा

लुम्बिनी । बर्दिया र दाङबाट अवैध लागुऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार, बर्दियाको बढैयाताल गाउँपालिका–७ कण्ठपुरबाट अवैध लागुऔषध ब्राउनसुगर ३ ग्राम ५ सय ३० मिलिग्रामसहित दुई जनालाई पक्राउ गरिएको हो। पक्राउ पर्नेहरूमा जुम्लाको तातोपानी गाउँपालिका–४ घर भई हाल बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१८ बस्ने १९ वर्षीय कमल खत्री र जुम्लाकै चन्द्रनाथ नगरपालिका–१० गैरागाउँ घर भएका २९ वर्षीय राजुराज न्यौपाने रहेका छन्। प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई शंका लागी जाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी बर्दियाले जनाएको छ।

त्यसैगरी, बढैयाताल गाउँपालिका–८ बाट अवैध लागुऔषध ब्राउनसुगर १ ग्राम ८ सय ८० मिलिग्रामसहित सोही गाउँपालिका–७ बस्ने बाँसगढी नगरपालिका–८ घर भएका ५२ वर्षीय छोटेलाल चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई प्रहरीले जाँचका क्रममा लागूऔषधसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ।

उता दाङको तुलसीपुर उपमहानगरपालिका–१७ रंगशाला क्षेत्रबाट अवैध लागुऔषध ब्राउनसुगर २ सय ३० मिलिग्रामसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारी  अनुसार, पक्राउ पर्नेहरूमा सोही स्थान बस्ने २७ वर्षीय दामोदर केसी र २३ वर्षीय पुजन बुढाथोकी रहेका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागूऔषधसहित पक्राउ गरेको हो।

पक्राउ परेका सबै व्यक्तिहरूविरुद्ध लागुऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान अघि बढाइएको र आइतबार सम्बन्धित जिल्ला अदालतबाट म्याद थप गरिने सम्बन्धित प्रहरी कार्यालयहरूले जानकारी दिएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्