नेभिगेशन
नेपाल प्रहरी

अपहरणविरुद्ध बर्दिया प्रहरीको अपरेशन: तीन बालबालिकाको उद्धार, ६ भारतीय नागरिक पक्राउ

गुलरिया । बर्दिया प्रहरीले अपहरण गरेर भारततर्फ लैजाँदै गरिएका तीन नेपाली बालबालिकालाई उद्धार गरेको छ। मंगलबार राति गुलरिया नगरपालिका–७ भन्सार रोड क्षेत्रमा शंकास्पद गतिविधि देखिएपछि प्रहरी टोलीले निगरानी बढाउँदै जाँदा बालबालिकालाई सुरक्षित रूपमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ।

उद्धार गरिएका बालबालिकामा रोल्पा उपरकोटका १५ वर्षीया बालिका, रोल्पा खाराकी १३ वर्षीया बालिका र दाङ चौघेराका ८ वर्षीय बालक रहेका छन्। उनीहरूलाई तत्कालै प्रहरी संरक्षणमा राखी परिवारसँग सम्पर्क गरिएको छ। परिवारका सदस्यहरू प्रहरीको सम्पर्कमा आइसकेका छन्।

बालबालिकालाई भारततर्फ लैजान खोजेको आरोपमा भारतको उत्तर प्रदेशस्थित बहराइच र अयोध्या क्षेत्रका ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको बर्दिया प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार पक्राउ पर्नेमा बहराइच जिल्लाकी ७४ वर्षीया लेडी महत, उनका छोरा ३४ वर्षीय हिरालाल महत, बुहारी २६ वर्षीया ज्ञानकुमारी महत, अयोध्या गोलाई गाउँकी ३५ वर्षीया सुनिता महत, बहराइचका २४ वर्षीय भुल्लु महत र १९ वर्षीय मुकेश महत रहेका छन्।

उनीहरूसँग एक काखे बालक समेत रहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानमा नियन्त्रणमा लिएका व्यक्तिहरू दाङको घोराही बजारमा गमलाको काम गर्दै आएको खुलेको छ। नेपाली बालबालिका यसअघि पनि भारतीय नागरिकसँग बस्दै आएको तथ्य खुलेको भए पनि यस पटक भारत लैजान खोजिएको उद्देश्यबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सरोज पौडेलले बताए।

उनले सम्बन्धित जिल्लामा बालबालिकाका आफन्तहरूसँग थप समन्वय र सम्पर्कको प्रयास भइरहेको जानकारी दिए। प्रहरीले मानव बेचबिखन वा अन्य आपराधिक गतिविधिसँग सम्बन्ध छ वा छैन भन्ने विषयमा गहन अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्