नेभिगेशन
नेपाल प्रहरी

अवैध उत्खनन्मा संलग्न रहेका ८ वटा ट्याक्टर दाङ प्रहरीको नियन्त्रणमा

दाङ । दाङ  प्रहरीले जिल्लाका विभिन्न स्थानमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्दै आएका ८ वटा सवारी साधनहरू नियन्त्रणमा लिएको छ।

दाङ प्रहरीका अनुसार फागुन १ गतेदेखि फागुन ७ गतेसम्म सञ्चालन गरिएको विशेष अनुगमन तथा कारबाही अभियानका क्रममा ढुङ्गा तथा बालुवा जस्ता नदीजन्य पदार्थ अवैध रूपमा उत्खनन् गरिरहेको अवस्थामा ८ वटा ट्याक्टर नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट खटिएको टोलीले उक्त सवारी साधनहरूलाई नियन्त्रणमा लिई सम्बन्धित निकायमा बुझाएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।।

नियन्त्रणमा लिइएका सवारी साधनहरूबाट रु. दुई लाख आठ सय नौ रुपैयाँ जरिवाना असुल गरी आवश्यक प्रक्रिया पूरा पश्चात सम्बन्धित व्यक्तिहरूको जिम्मा लगाई पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीले अवैध उत्खनन् कार्यले वातावरणीय सन्तुलनमा नकारात्मक प्रभाव पार्ने भन्दै यस्ता गतिविधि नियन्त्रणका लागि आगामी दिनमा समेत निगरानी तथा कारबाहीलाई निरन्तरता दिने स्पष्ट पारेको छ। साथै, अवैध कार्यमा संलग्न नहुन र यस्ता गतिविधि देखेमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन सर्वसाधारणलाई अनुरोध गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्