नेभिगेशन
नेपाल प्रहरी

यस्तो छ फागुन १३ को रातिदेखि १५ गतेसम्म बाँके प्रहरीको अवैध कार्यविरुद्धको अपरेशन

बाँके । बाँके प्रहरीले जिल्लाका विभिन्न स्थानबाट भन्सार छली गरेर ल्याइएको लाखौं रुपैयाँ बढीको अवैध सामन बरामद गर्न सफल भएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार  जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले तस्करी गरी ल्याएको ३ लाख १३ हजार २५ रुपैयाँ बराबरको  लत्ताकपडा, खाद्यानका सामाग्री, सुर्तीजन्य पदार्थ, भाँडाकुडा, सलाई लगायतका सामन बरामद गरेको हो।

बरामद गरिएका सबै अवैध सामनलाई आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

त्यसैगरि बाँके प्रहरीले बर्दियाबाट चोरी गरी ल्याइएको अवैध खयर काठसहित एक ट्रकलाई  नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा फागुन १३ गते राति प्रहरी टोलीले निगरानी बढाएको थियो।
राजापुरको बर्दियाबाट भे १ ख ४३९३ नम्बरको ट्रकमा जंगलबाट चोरी गरिएको खयर काठ बाँकेको जानकी गाउँपालिका–६ स्थित बागेश्वरी कत्था उद्योग प्रा.लि.तर्फ लैजाँदै गरिएको सूचना पाएपछि प्रहरी टोलीले उद्योगको प्रवेशद्वारमै ट्रक रोकेको थियो। सिलसहितको उक्त ट्रकलाई रोक्दै सब–डिभिजन वन कार्यालय नेपालगञ्ज बाँकेका विज्ञ प्रतिनिधि तथा स्थानीय जनप्रतिनिधिको रोहवरमा जाँच गरिएको थियो।

जाँचका क्रममा डिभिजन वन कार्यालय बर्दियाको स्थानान्तरण इजाजतपत्रअनुसार २०० थान खयर काठको कागजात देखाइएको भए पनि ट्रकमा ४८२ थान खयर काठ फेला परेको प्रहरीले जनाएको छ। तीमध्ये २८२ थान काठको कुनै कागजात नभएको खुल्न आएको छ। बरामद काठको परिमाण २८७.१२ घन फिट रहेको छ।

प्रहरीले अवैध काठसहित ट्रक, चालक र बागेश्वरी कत्था उद्योग प्रा.लि.का सञ्चालकलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा ट्रक चालक बाँके नेपालगञ्ज उपमहानगरपालिका–२० निवासी ३७ वर्षीय राम चौहान खटिक र उद्योगका सञ्चालक नेपालगञ्ज–१८ निवासी ३१ वर्षीय विवेक मैनाली रहेका छन्।

बरामद काठ, ट्रक र पक्राउ परेकालाई आवश्यक कानुनी कारबाहीका लागि सब–डिभिजन वन कार्यालय नेपालगञ्ज बाँकेमा पठाइएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्