नेभिगेशन
नेपाल प्रहरी

निर्वाचन सुरक्षामा उत्कृष्टता देखाएका बाँके प्रहरी प्रमुख अंगुर जिसी पुरस्कृत

बाँके । संगठनको विभागीय नीति निर्देशनको प्रभावकारी कार्यान्वयन र नतिजामुखी नेतृत्वको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै बाँके जिल्लाको निर्वाचन सुरक्षा व्यवस्थापन सफलतापूर्वक सम्पन्न गर्न सफल भएका बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसी पुरस्कृत भएका छन्।

निर्वाचनजस्तो संवेदनशील प्रक्रियामा सामान्य व्यवस्थापन मात्र पर्याप्त हुँदैन। सूक्ष्म योजना, जोखिमको पूर्वआकलन र कठोर कार्यान्वयन अनिवार्य मानिन्छ। बाँकेमा लागू गरिएको सुरक्षा रणनीतिले यी सबै पक्षलाई प्रभावकारी रूपमा समेटेको देखिएको छ। यस सम्पूर्ण रणनीतिक योजना तथा कार्यान्वयनमा एसपी जिसीको प्रत्यक्ष नेतृत्व निर्णायक रहेको भन्दै प्रहरी प्रधान कार्यालयले पुरस्कृत गरेको हो।

एसपी  जिसीको स्पष्ट निर्देशन र कडाइका साथ गरिएको कार्यान्वयनकै कारण जिल्लामा कुनै उल्लेखनीय सुरक्षा कमजोरी देखिन नदिइएको स्पष्ट देखिन्छ । संवेदनशील क्षेत्रको पहिचानदेखि मतदान केन्द्रको प्रभावकारी नियन्त्रणसम्म एसपी जिसीको निर्देशनमा सुरक्षा संयन्त्र सुदृढ रूपमा परिचालित गरिएको थियो।

प्रहरी प्रधान कार्यालयले सोही उपलब्धिलाई कदर गर्दै एसपी जिसीलाई अभिलेखमा जनिने गरी पुरस्कृत गरिएको जनाएको छ।

उनको ६ महिनाको बाँके कमाण्ड अवधिमा ठूला जघन्य अपराधको सफल अनुसन्धान तथा कारबाही हुनुका साथै आन्तरिक सुरक्षा अवस्था थप मजबुत भएको मूल्याङ्कन गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्