नेभिगेशन
नेपाल प्रहरी

डीएसपी चन्दसहित ३ जनालाई नसिहत, १० जनालाई सचेत, 'के थियो घटना?'

कैलाली ।  इलाका प्रहरी कार्यालय मालाखेतीमा प्रमाण लुकाएर अभियुक्तलाई जोगाउन खोजिएको घटनामा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले कडा कदम चालेको छ। वन्यजन्तुसम्बन्धी प्रमाणहरू दबाएर मुद्दा कमजोर बनाउने प्रयास गरेको आरोपमा कार्यालय प्रमुखसहित १३ जना प्रहरी कर्मचारीमाथि विभागीय कारबाही गरिएको हो।

यो घटना गत साउन ९ गते मध्यराततिरको हो।  कैलालीको गोदावरी नगरपालिका–८ क्षेत्रमा मालाखेती प्रहरी र स्थानीय प्रहरीको संयुक्त टोलीले दुई युवकलाई पक्राउ गरेको थियो। पक्राउ पर्नेहरू चन्द्रबहादुर चौधरी र राजकुमार चौधरी रहेका थिए। उनीहरूको साथबाट एउटा भरुवा बन्दुकसहित चित्तलको जस्तो देखिने सिङ र खुर बरामद भएको थियो।

तर, कानुनअनुसार वन्यजन्तु सम्बन्धी कडा कारबाही हुनुपर्ने अवस्थामा प्रहरीले तयार पारेको मुचुल्कामा भने बन्दुक मात्र उल्लेख गरिएको पाइयो। सिङ र खुरबारे कुनै विवरण समावेश नगरी मुद्दालाई केवल ‘हातहतियार तथा खरखजाना’ सम्बन्धी बनाइएको थियो।

घटना केही समयसम्म गोप्य राखिए पनि पछि प्रहरी प्रधान कार्यालयमा उजुरी परेपछि विषय बाहिर आएको हो। उजुरीमा मुद्दा शाखा प्रमुख प्रहरी निरीक्षक दानसिंह भण्डारीमाथि गम्भीर आरोप लगाइएको थियो। उनले प्रमाण लुकाउनुका साथै अन्य अनियमितता गरेको दाबी गरिएको थियो।

प्रहरी प्रधान कार्यालयको निर्देशनपछि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले छानबिन अघि बढायो। प्रारम्भिक अनुसन्धानको जिम्मा मालाखेतीकै डीएसपी रणबहादुर चन्दलाई दिइएको थियो। तर, उनले आफ्नो मातहतका कर्मचारीको बचाउ गर्दै अनुसन्धानमा कुनै त्रुटि नभएको प्रतिवेदन पेश गरे।

यसपछि पुनः उजुरी परेपछि डीएसपी निशान्त श्रीवास्तवको नेतृत्वमा नयाँ छानबिन समिति गठन गरियो। उक्त टोलीले कार्यालयमा गरेको खानतलासीका क्रममा मुचुल्कामा उल्लेख नगरिएका सिङ र खुर कार्यालयकै दराजमा लुकाइएको अवस्थामा फेला परेको जनाएको छ।

छानबिन प्रतिवेदनका आधारमा कार्यालय प्रमुख  डीएसपी रणबहादुर चन्द, निरीक्षक दानसिंह भण्डारी र वरिष्ठ सई दीपेन्द्र भट्टलाई अभिलेखमा जनिने गरी नसिहत दिइएको छ। यस्तो कारबाहीले उनीहरूको भविष्यको पदोन्नति र सेवासम्बन्धी अवसरमा असर पार्नेछ।

यसै घटनामा संलग्न अन्य १० जना प्रहरी कर्मचारीलाई पनि अभिलेखमा रहने गरी सचेत गराइएको छ। प्रहरी नियमावली २०७१ अनुसार उनीहरूको सेवाकालीन फाइलमा यो आचरणको विवरण रहने जनाइएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्