नेभिगेशन
नेपाल प्रहरी

नेपालगञ्ज बसपार्कमा हतियारधारी समूहको लुटपाट: ४ लुटेरा पक्राउ, पेस्तोल र खुकुरी बरामद

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं.४ स्थित बसपार्कमा यात्रुहरूलाई लक्षित गरी हातहतियार देखाएर डाँका चोरी घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार मंगलबार नेपालगञ्जबाट काठमाडौँ जाने बसमा सवार चार जना यात्रुमाथि ६-७ जनाको हतियारधारी समूहले धाकधम्की दिँदै कुटपिट गर्दै नगद तथा जिन्सी सामान लुटपाट गरेको थियो। उक्त समूहले पीडितहरूबाट नगद ५९ हजार रुपैयाँ र  मोबाइल तथा अन्य सामान जबरजस्ती खोसेर फरार भएका थिए।

घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरीले खोजतलास तीव्र बनाएको थियो। सोही क्रममा प्रहरीले बुधबार  घटनामा संलग्न चार जनालाई नियन्त्रणमा लिइएको बाँके प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूबाट घटनामा प्रयोग गरिएको कटुवा पेस्तोल र खुकुरी समेत बरामद गरिएको छ।

पक्राउ पर्नेहरूमा नेपालगञ्ज उपमहानगरपालिका–१९ का २४ वर्षीय रामु परियार, वडा नं. ४ का २८ वर्षीय सुवास बिष्ट, २६ वर्षीय संजय क्षेत्री तथा कोहलपुर नगरपालिका–५ का १९ वर्षीय सन्दीप जंग क्षेत्री रहेको बाँके प्रहरीले जनाएको छ।

प्रहरीले घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको खोजी कार्य जारी रहेको जनाएको छ भने पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्