नेभिगेशन
नेपाल प्रहरी

'मध्यरातमा मोटरसाइकलबाट पेट्रोल चोर्दै गर्दा बर्दियाका समिर पक्राउ परेपछि'.. प्रहरी चकित!

काठमाडौं। मोटरसाइकलबाट मध्यरातमा पेट्रोल चोरी गरिरहेको अवस्थामा एक युवकलाई पक्राउ गरेपछि चोरी गर्ने गिरोह नै पक्राउ पर्न सफल भएको छ। 

प्रहरीले कीर्तिपुर नगरपालिका–९ स्थित एक घरमा पार्किङ गरेर राखिएको बा २९ प २४२ नम्बरको मोटरसाइकलबाट पेट्रोल चोरी गरिरहेको  अवस्थामा आइतबार मध्यराति साढे १ बजे  बर्दियाको गुलरिया नगरपालिका–५ ज्योतीनगर घर भई हाल कीर्तिपुर नगरपालिका–९ बस्दै आएका २१ वर्षीय समिर बिकलाई पक्राउ गरेको थियो।

पक्राउ परेका समिरले अन्य साथीहरु रहेको बताएपछि प्रहरीले बर्दियाकै गुलरिया नगरपालिका–५ घर भई कीर्तिपुर नगरपालिका–५ बस्दै आएका २३ वर्षीय सुवाश बिक, बर्दियाकै बाँसगढी नगरपालिका–७ घर भई सोही स्थानमा बस्दै आएका २३ वर्षीय सन्देश श्रीपाली र नुवाकोटको बेलकोटगढी नगरपालिका–७ घर भई हाल तारकेश्वर नगरपालिका–७ बस्दै आएका २८ वर्षीय रमेश सदाशंकरलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

सुरुमा पक्राउ परेका  समिर बस्ने कोठामा खानतलासी गर्दा प्रहरी नै चकित परेको थियो। खानतलासीकै क्रममा प्रहरीले समिरको कोठाबाट नगद रु. ५६ हजार, तामाको धातुबाट बनेको जस्तो देखिने ४० थान मूर्ति, १५ बन्डल चुरोट (प्रत्येक बन्डलमा १० प्याकेट), ६ थान एन्ड्रोइड मोबाइल, ४ थान कीप्याड मोबाइल, सुनका एक जोर कानको झुम्का, सुनको रातो पोते सहितको नेकलेश, २ थान शिरबन्दी, चाँदीको एक जोर पाउजु, प्रदेश ३–०२–००७ प ९३८६ र बा २५ प ६८७० नम्बरका मोटरसाइकल तथा १० थान हेलमेट बरामद गरिएको हो।

घटनामा संलग्न सबैलाई नियन्त्रणमा लिई प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्