नेभिगेशन
नेपाल प्रहरी

महिला र बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा तीन जना पक्राउ

काठमाडौँ । देशका तीन फरक जिल्लामा महिला तथा बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले तीन जना व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार कैलाली, कपिलवस्तु र ओखलढुङ्गामा दर्ता भएका उजुरीका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

कैलालीको लम्कीचुहा नगरपालिका–८, सोनपुरका ३० वर्षीय कासिम अली जागालाई २७ वर्षीया महिलामाथि करणी गरेको आरोपमा मंगलबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले उजुरी प्राप्त भएपछि उनलाई नियन्त्रणमा लिएको हो।

यस्तै, कपिलवस्तुको शिवराज नगरपालिका–५, ग्यालेक्सी टोलका २५ वर्षीय चन्दन तिवारीलाई १४ वर्षीया बालिकामाथि करणी गरेको आरोपमा पक्राउ गरिएको छ। उक्त घटनाबारे जानकारी प्राप्त भएपछि वडा प्रहरी कार्यालय चन्द्रौटाबाट गएको टोलीले मंगलबार साँझ उनलाई पक्राउ गरेको हो।

उता, ओखलढुङ्गामा पनि यस्तै प्रकृतिको घटनामा एक व्यक्ति पक्राउ परेका छन्। रौतहटको देवाही गोनाही नगरपालिका–६ घर भएका ४९ वर्षीय चुनचुन साह कानुलाई २० वर्षीया महिलामाथि करणी गरेको आरोपमा मंगलबार दिउँसो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनलाई अस्थायी प्रहरी पोष्ट केतुकेबाट खटिएको टोलीले पक्राउ गरेको हो।

तीनै घटनामा संलग्न आरोपितमाथि सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरूले कानुनी प्रक्रिया अघि बढाउँदै थप अनुसन्धान गरिरहेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्