नेभिगेशन
नेपाल प्रहरी

बाँके प्रहरीको लागुऔषधविरुद्ध 'क्लीन स्वीप' अपरेसन: एकैरातमा १११ पक्राउ,२७५ ग्राम ब्राउन सुगर बरामद

काठमाडौं  । लागुऔषधमुक्त समाज निर्माण गर्ने लक्ष्यसहित बाँके प्रहरीले व्यापक “क्लीन स्वीप अपरेसन” सञ्चालन गर्दै ठूलो सफलता हात पारेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी अंगुर जिसीको निर्देशनमा गएराति सञ्चालन गरिएको विशेष 'क्लीन स्वीप अभियान' मा १ सय ११ जनालाई नियन्त्रणमा लिइएको छ भने २७५ ग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ।

यो अपरेसन बाँके जिल्लाको इतिहासमै एकै रातमा लागुऔषध कारोबार र सेवनमा संलग्न यति ठूलो संख्यामा व्यक्तिहरू पक्राउ परेको पहिलो घटना हो। पक्राउ परेकामध्ये अधिकांश लागुऔषध कारोबारी, केही खरिदकर्ता र केही सेवनकर्ता रहेको एसपी जिसीले जानकारी दिए।

प्रहरीका अनुसार नेपालगञ्ज क्षेत्रबाट सबैभन्दा बढी ९१ जना र कोहलपुरबाट २० जना पक्राउ परेका छन्। यसले लागुऔषध नियन्त्रणमा प्रहरीको सक्रियता र प्रतिबद्धता स्पष्ट देखिएको छ।

एसपी जिसीले पक्राउ परेकामाथि कानुनी प्रक्रिया अघि बढाइने स्पष्ट पार्दै भने, “लागुऔषध कारोबारमा संलग्न व्यक्तिहरूमाथि प्रचलित कानूनअनुसार कडा कारबाही गरिनेछ। सेवनकर्ताको हकमा भने उनीहरूको अवस्थालाई ध्यानमा राखेर परिवारसँग समन्वय गरी सुधारमुखी उपाय अपनाइनेछ।”

उनले थपे, “पहिलो पटक लागुऔषध सेवनमा फसेकाहरूलाई काउन्सिलिङमार्फत सचेत गराई परिवारको जिम्मा लगाइनेछ। तर, दोहोरिएको वा गम्भीर संलग्नता देखिएमा कानुनी कारबाही अनिवार्य हुनेछ। हाम्रो लक्ष्य केवल कारबाही होइन, समाजलाई सुरक्षित र युवाहरूलाई सही दिशामा लैजानु पनि हो।”

एसपी जिसीका अनुसार, लागुऔषध सेवनकर्तालाई पुनःस्थापनाका लागि रिहाब सेन्टरमा पठाउने व्यवस्था गरिनेछ भने पहिलो पटक फसेकाहरूलाई सचेतना र परामर्शमार्फत सुधारको अवसर दिइनेछ।

प्रहरी प्रमुख जिसीले लागुऔषधविरुद्धको अभियान निरन्तर रूपमा अघि बढ्ने प्रतिबद्धता जनाउँदै भने, “लागुऔषधले समाजलाई मात्रै होइन, राष्ट्रको भविष्य बोक्ने युवापुस्तालाई गम्भीर रूपमा असर पुर्‍याइरहेको छ। यसविरुद्धको हाम्रो अभियान अझ सशक्त र निरन्तर रहनेछ।”

बाँके प्रहरीले पछिल्लो समय देखाएको सक्रियता र प्रभावकारी कार्यशैली प्रशंसनीय बन्दै गएको छ। जिसीकै नेतृत्वमा बाँके प्रहरी गत चैत महिनामा देशभरकै उत्कृष्ट प्रहरी इकाइ बन्न सफल भएको थियो। काठमाडौं र ललितपुर प्रहरी परिसरलाई समेत उछिन्दै शीर्ष स्थान हासिल गर्नु बाँके प्रहरीको दक्षता, प्रतिबद्धता र परिणाममुखी कार्यशैलीको ज्वलन्त उदाहरण बनेको छ।

समग्रमा, बाँके प्रहरीको यो अपरेसनले लागुऔषध नियन्त्रणमा नयाँ सन्देश दिएको छ भने समाजलाई सुरक्षित र स्वस्थ बनाउने दिशामा महत्वपूर्ण कदम सावित भएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्