बाँके । बाँके जिल्ला नेपाल–भारत खुला सीमासँग जोडिएको देशकै संवेदनशील जिल्लामध्ये एक हो। खुला सीमाका कारण यहाँ सुरक्षा चुनौती पनि उत्तिकै छन्। अवैध ओसारपसार, लागूऔषध कारोबार, सीमापार अपराध, मानव बेचबिखनदेखि विभिन्न आपराधिक गतिविधि नियन्त्रण गर्नु सुरक्षा निकायका लागि सधैं चुनौतीपूर्ण विषय रहँदै आएको छ। यद्यपि पछिल्लो समय बाँकेस्थित सुरक्षा निकायहरूले देखाएको सक्रियता र समन्वयका कारण जिल्लाको सुरक्षा अवस्था थप मजबुत बन्दै गएको अनुभूति गर्न सकिन्छ।
सीमा सुरक्षाको जिम्मेवारी सम्हालिरहेको सशस्त्र प्रहरी बल, नेपाल नं. ३० गण बागेश्वरी बाँकेले सीमा क्षेत्रमा निगरानी बढाउँदै अवैध गतिविधिविरुद्ध प्रभावकारी अभियान सञ्चालन गरिरहेको छ। सीमा नाकामा नियमित चेकजाँच, गस्ती तथा विशेष अपरेसनका कारण अवैध रूपमा हुने सामान ओसारपसारमा कमी आएको देखिएको छ। विशेषगरी स्निफर डगको प्रयोगपछि लागूऔषध, कपडा, खाद्यान्न तथा अन्य प्रतिबन्धित वस्तुको तस्करी नियन्त्रणमा थप सफलता मिलेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेले पनि जिल्लाभित्र शान्ति–सुरक्षा कायम राख्न निरन्तर मेहनत गरिरहेको छ। अपराध अनुसन्धान, फरार प्रतिवादी पक्राउ, लागूऔषध नियन्त्रण, चोरी तथा लुटपाटका घटनाको अनुसन्धानदेखि समुदाय–प्रहरी साझेदारी कार्यक्रमसम्म प्रहरीले प्रभावकारी भूमिका निर्वाह गरिरहेको छ। सीमित स्रोतसाधन र पुराना भौतिक संरचनाबीच पनि प्रहरीकर्मीहरू जनताको सुरक्षाका लागि दिनरात खटिरहेका छन्।
लागूऔषध नियन्त्रणका क्षेत्रमा बाँके प्रहरी र लागुऔषध नियन्त्रण ब्यूरोको कार्य विशेष रूपमा उल्लेखनीय छ। भारतसँगको खुला सीमाको फाइदा उठाउँदै हुने लागूऔषध कारोबार नियन्त्रण गर्न सुरक्षा निकायले निरन्तर अपरेसन सञ्चालन गरिरहेका छन्। जसका कारण ठूलो परिमाणमा लागूऔषध बरामद हुनुका साथै कारोबारी र प्रयोगकर्ताहरू पक्राउ पर्ने क्रम बढेको छ। यसले समाजलाई लागूऔषधको दुष्चक्रबाट जोगाउन महत्वपूर्ण योगदान पुर्याएको छ।
यस्तै, अवैध उत्खनन तथा प्राकृतिक स्रोत–साधनको दोहनविरुद्ध पनि सुरक्षा निकायले कडाइका साथ अभियान सञ्चालन गरिरहेका छन्। विभिन्न स्थानबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ढुवानीमा संलग्न सवारीसाधन नियन्त्रणमा लिइएका छन्। यसले राज्यको राजस्व संरक्षणका साथै वातावरणीय सन्तुलन कायम राख्न पनि मद्दत पुगेको छ।
ट्राफिक व्यवस्थापनमा जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले सडक अनुशासन कायम गर्न, दुर्घटना न्यूनीकरण गर्न तथा यात्रुलाई सुरक्षित यात्रा सुनिश्चित गर्न उल्लेखनीय भूमिका खेलिरहेको छ। नियमित चेकजाँच, जनचेतनामूलक कार्यक्रम र ट्राफिक नियमको कडाइका कारण सडक सुरक्षा व्यवस्थापनमा सकारात्मक सुधार देखिएको छ।
विपद्का समयमा पनि बाँकेका सुरक्षा निकाय अग्रपंक्तिमा देखिने गरेका छन्। बाढी, डुबान, आगलागी तथा अन्य प्राकृतिक विपद्का घटनामा उद्धार, राहत तथा खोजतलास कार्यमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र अन्य सुरक्षा निकायले निर्वाह गरेको भूमिका प्रशंसायोग्य रहँदै आएको छ।
यस्तै, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय बाँकेले पनि जिल्लाको समग्र शान्ति–सुरक्षा अवस्थालाई मजबुत बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। तथ्यपरक सूचना संकलन तथा विश्लेषण, संवेदनशील गतिविधिहरूको निगरानी तथा सम्भावित आपराधिक क्रियाकलापको पूर्वसूचना संकलनमार्फत उक्त कार्यालयले सुरक्षा निकायहरूलाई आवश्यक सहयोग पुर्याउँदै आएको छ। विशेषगरी सीमा क्षेत्र तथा संवेदनशील स्थानहरूमा हुने गतिविधिबारे समयमै सूचना प्रवाह गरेर सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन राष्ट्रिय अनुसन्धानको भूमिका उल्लेखनीय रहँदै आएको छ।
अपराध नियन्त्रण, सीमा सुरक्षा, लागूऔषधविरुद्धको अभियान, अवैध ओसारपसार नियन्त्रण, ट्राफिक व्यवस्थापन तथा विपद् उद्धार जस्ता बहुआयामिक जिम्मेवारीलाई प्रभावकारी रूपमा निर्वाह गर्दै आएका बाँकेका सुरक्षा निकायहरू जिल्लावासीका भरोसाका केन्द्र बनेका छन्। सुरक्षा निकायहरूको यही समर्पण, मेहनत र सक्रियताका कारण बाँकेबासीले आफूलाई थप सुरक्षित महसुस गरेका छन्।
आगामी दिनमा पनि यस्तै प्रतिबद्धता, स्रोत–साधनको थप व्यवस्थापन र नागरिकको सहयोगसँगै बाँकेको सुरक्षा अवस्था अझ सुदृढ बन्ने अपेक्षा गर्न सकिन्छ।
सुरक्षा निकायहरूको यही सक्रियता, समर्पण र कर्तव्यनिष्ठाका कारण बाँकेबासीले राहतको सास फेर्न पाएका छन्। जनताको सुरक्षालाई केन्द्रमा राखेर निरन्तर खटिने सुरक्षा संयन्त्र वास्तवमै बाँकेबासीको भरोसाको आधार बनेको छ।