नेभिगेशन
नेपाल प्रहरी

युएन प्रहरी सम्मेलनमा आईजीपी कार्कीको सम्बोधन, 'अन्तर्राष्ट्रिय सहकार्य अपरिहार्य'

काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले विश्वव्यापी शान्ति, सुरक्षा र कानुनको शासनलाई थप प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय प्रहरी सहकार्य अपरिहार्य रहेको बताएका छन्।

अमेरिकास्थित संयुक्त राष्ट्रसंघ (यूएन) को प्रधान कार्यालयमा जुलाई ७ देखि जारी पाँचौँ संयुक्त राष्ट्रसंघीय चिफ अफ पुलिस समिटलाई सम्बोधन गर्दै उनले साइबर अपराध, मानव बेचबिखन, अन्तरदेशीय सङ्गठित अपराध, आतङ्कवाद, आर्थिक अपराध तथा डिजिटल प्रविधिको दुरुपयोगबाट उत्पन्न चुनौतीहरू कुनै एक मुलुकको प्रयासबाट मात्रै समाधान हुन नसक्ने उल्लेख गरे।

यस्ता साझा चुनौतीको सामना गर्न सूचना आदान–प्रदान, क्षमता अभिवृद्धि, संयुक्त तालिम तथा प्रविधिको प्रभावकारी प्रयोगमार्फत अन्तर्राष्ट्रिय सहकार्यलाई अझ मजबुत बनाउनुपर्नेमा उनले जोड दिए।

आईजीपी कार्कीले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा नेपाल प्रहरीले दशकौँदेखि व्यावसायिक, निष्पक्ष र अनुशासित रूपमा जिम्मेवारी निर्वाह गर्दै आएको उल्लेख गर्दै विश्व शान्ति स्थापनाप्रति नेपालको प्रतिबद्धता निरन्तर रहने विश्वास व्यक्त गरे।

उनले नेपाल प्रहरीले महिला प्रहरीको सहभागिता विस्तार, समुदाय–प्रहरी साझेदारी, मानवअधिकारको सम्मान तथा कानुनको शासनलाई प्राथमिकतामा राख्दै आधुनिक प्रहरी सेवाको विकासमा निरन्तर काम गरिरहेको पनि बताए।

सम्बोधनका क्रममा उनले शान्ति र सुरक्षासम्बन्धी साझा चुनौतीको समाधानका लागि सदस्य राष्ट्रहरूबीच विश्वास, समन्वय र साझेदारीलाई थप बलियो बनाउन आवश्यक रहेको उल्लेख गर्दै सुरक्षित, न्यायपूर्ण र शान्तिपूर्ण विश्व निर्माणका लागि सबै राष्ट्र एकजुट भएर अघि बढ्न आह्वान गरे।

प्रहरी प्रधान कार्यालयका अनुसार सम्मेलनमा नेपाल प्रहरीको तर्फबाट प्रस्तुत उक्त सम्बोधनले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको सुरक्षा दृष्टिकोण, व्यावसायिक क्षमता र विश्व शान्तिप्रतिको प्रतिबद्धतालाई प्रभावकारी रूपमा उजागर गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्